‘नाडा अटोसो’ भदौ २६ गतेदेखि ३१ गतेसम्म हुने
काठमाडौ, २८ असार । ‘नाडा अटोसो’ भदौ २६ गतेदेखि ३१ गतेसम्म हुने भएको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । यो मेलालाई सवारीसाधन तथा पार्टपूर्जाको कुम्भ मेलाको रूपमा लिइने गरिएको छ ।
अटोसोका लागि नाडाले स्टल बुकिङ समेत खुला गरेको छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअघि आयोजना हुँदै आएको प्रदर्शनी कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा आयोजना हुन सकेन । त्यसै सन् २०२२ पनि सरकारले सवारी साधनको आयातमाथि प्रतिबन्ध लगाएपछि विद्युतीय सवारीको मात्रै प्रदर्शनी गरिएको थियो ।
प्रदर्शनीमा बैंक, इन्स्योरेन्सलगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थासमेतको सहभागिता रहने छ । करिब ४ वर्षपछि हुन लागेको वृहत् प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ ।