रासायनिक मल कारखानाको सम्भावना अध्ययन गरिँदै
काठमाडौं, २९ असार । नेपालमा रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन अघि बढ्ने भएको छ । यसका लागि लगानी बोर्ड नेपाल र जर्मनीको डायग इन्डस्ट्रिज लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डायग इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक बेन्यामिन बेकरले हस्ताक्षर गरेका छन् ।
सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्थाअनुसार उक्त कम्पनीको प्रस्तावका आधारमा लगानी बोर्डको २०७८ चैत १७ मा सम्पन्न ५०औं बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३औं बैठकबाट स्वीकृत भएको थियो । सम्झौताअनुसार प्रस्तावक कम्पनी डायग इन्डस्ट्रिज लिमिटेडले अनुमतिपत्र प्राप्त गरेको २४ महीनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेश गर्नुपर्नेछ । कम्पनीले नेचुरल ग्यास, इलेक्ट्रोलाइसिस अथवा हाइब्रिड प्रविधिमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल ९युरिया० उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि ७१ करोड ४० लाख अमेरिकी डलर लाग्ने अनुमान रहेको छ ।
आगामी आव २०८०र८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने उल्लेख छ ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दिगो रूपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने बताए । तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावक कम्पनीलाई उनले आग्रह गरे ।