नेपाल टेलिकमको नाफा घट्यो

काठमाडौं, ३१ साउन । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशन गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले सात अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले आठ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत घटेर ३६ अर्ब ८० करोड रुपैयाँमा झरको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३१.४५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ४५.३४ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी १.११ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी तीन रुपैयाँ ७० पैसा घटेर ४३ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात २०.९२ गुणा रहेको छ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ।