सन नेपाल लाइफको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, ३२ साउन । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) आज (साउन ३२ गते) देखि निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । लगानीकर्ताहरुले आज बैंकिङमय पश्चात् कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी तीन अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सोमध्ये नौ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । सोपश्चात बाँकी भएको शेयरमा चार लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ भने चार लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० देखि २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औसतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ ।
इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।
वास्तविक वित्तीय विवरण २०७८/०७९ अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४१ पैसा रहेको छ । उक्त अवधिसम्म कम्पनी ३९ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको छ । कम्पनीले आईपीओ निष्कासनबाट प्राप्त रकम नेपाल बीमा प्राधिकरणले तोकेको प्राथमिक क्षेत्र, नेपाल सरकारको ऋाण्पत्र, विकास ऋणपत्र, वाणिज्य बैंकको मुद्दती निक्षेप तथा ब्याज प्राप्त हुने क्षेत्रमा लगानी गर्ने बताइएको छ ।