सोनापुर मिनरल्स्को आईपीओमा देखिएन स्थानीयको आकर्षण, १० दिनमा १२५ जनाले मात्र दिए आवेदन
काठमाडौं, ७ भदौ । गत साउन २९ गतेदेखि स्थानीय र वैदेशिक रोजगारमा गएका नेपालीहरूलाई सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन ग¥यो । वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई छुट्याएको आईपीओ सबै बिक्री भएको छ । तर, स्थानीयले भने कम्पनीको आईपीओमा आकर्षण देखाएनन् ।
यो कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि अंकित मूूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्कासन गरेको हो । तर, आईपीओ निष्कासन भएको १० दिन वितिसक्दा १२५ जनाले १४ हजार ३४० कित्ता आईपीओ माग गरेका छन् ।
यो कम्पनीले आयोजना प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका सम्पूर्ण वडाहरूमा बसोबास गर्ने स्थानीयलाई आईपीओ निष्कासन गरेको हो । स्थानीयले आईपीओमा छिटोमा भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यो अवधिसम्म माग अनुसार आवेदन नपरे भदौ २६ गतेसम्म आवेदन मिति थप गरिने कम्पनीले जानकारी दिएको छ । तर, ढिलो अवधिसम्म पनि यो कम्पनीको आईपीओमा स्थानीयले माग अनुसार आवेदन नदिने देखिन्छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी)का अनुसार १० दिनको अवधिमा निष्कासित आईपीओको ०.९३ प्रतिशत मात्र माग भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुलाएको आवेदनमा भने १० दिनमै मागभन्दा १.२७ गुणा बढी आवेदन परेको छ । वैदेशिक रोजगारीमा गएकाहरूलाई कम्पनीले प्रतिकित्ता २२५ रुपैयाँका दरमा १० लाख ७६ हजार २६८ कित्ता सेयर भदौ ११ गतेसम्मका लागि आवेदन खुला गरेको हो । तर, वैदेशिक रोजगारीमा गएकाहरूले १३ लाख ६५ हजार ८३० कित्ता आईपीओ माग गरिसकेका छन् ।
यो आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा क्यापिटलसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएससीबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्पmत आवेदन दिन सकिनेछ ।
यो सिमेन्ट उत्पादन गर्ने उद्योग हो । यो उद्योग दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको छ । यो कम्पनीले २०६९ जेठ १८ गतेदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ । उद्योगको कुल लागत आठ अर्ब ७१ करोड रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।