आईपीओ निष्कासन गर्न कृषि कम्पनीसहित १२ वटाको बोर्डमा निवेदन, डेढ वर्षदेखि स्वीकृतिको पर्खाइमा
काठमाडौं, १३ भदौ । धितोपत्र बजारमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने कम्पनीहरू थपिँदै गएका छन् । कतिपय कम्पनीहरूले प्रिमियम मूल्य थप गरी आईपीओ निष्कासन गरेका छन् भने कतिपयले अंकित मूल्यमा नै आईपीओ निष्कासन गर्दै आएका छन् ।
अहिले पनि नेपाल धितोपत्र बोर्डमा १२ कम्पनी आईपीओ निष्कासनका लागि स्वीकृतिको पर्खाइमा छन् । जसमा दुई वटा कम्पनी बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने तयारीमा छन् । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नेमा रिलायन्स स्पिनिङ मिल्स् र सवोत्तम सिमेन्ट रहेका छन् । यी दुई कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत शेयर बिक्री गरेर मात्र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछन् ।
बाँकी १० वटा कम्पनीले भने बोर्डबाट स्वीकृति पाएपछि हाल प्रचलित प्रक्रियाबाट नै आईपीओ निष्कासन गर्ने छन् । आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिनेमा हिम स्टार कम्पनी, डिस मिडिया नेटवर्क, आइएमई लिमिटेड, दरमखोला हाइड्रो इनर्जी र कान्तिपुर टेलिभिजन रहेका छन् । यसका साथै एक्कर्ड फर्मास्युटिकल्स, नेपाल वेयरहाउजिङ कम्पनी, ट्रेड टावर, मुक्तिनाथ कृषि कम्पनी र सानिमा हाइड्रोपावर रहेका छन् ।
कुन कम्पनीले कति आईपीओ निष्कासन गर्दैछन् ?
बोर्डमा आवेदन दिँदाको विवरण अनुसार हिम स्टार ऊर्जा कम्पनीले ११ लाख १९ कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । त्यस्तै डिस मिडियाले एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता, आइएमई लिमिटेडले १० लाख कित्ता र दरमखोला हाइड्रो इनर्जीले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेका हुन् ।
त्यसैगरी कान्तिपुर टेलिभिजनले ७ लाख ५० हजार कित्ता, एक्कर्ड फर्मास्युटिकल्सले ७ लाख ६ हजार ९०९, नेपाल वेयरहाउजिङ कम्पनीले १३ लाख ७५ हजार, ट्रेड टावरले ११ लाख ५८ हजार ९८० र सानिमा हाइड्रोपावरले १४ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेका हुन् ।
मुक्तिनाथ कृषि कम्पनील भने डेढ वर्ष वितिसक्दा पनि अनुमति पाएको छैन । यो कम्पनीले २०७८ फागुन २० गते बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो । कम्पनीले अंकिन मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको हो ।