Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

यी हुन् साउनमा निर्यात भएका प्रमुख वस्तु, कुन कतिको निकासी ?

यी हुन् साउनमा निर्यात भएका प्रमुख वस्तु, कुन कतिको निकासी ?

काठमाडौं, १३ भदौ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को प्रथम महीना साउनमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले ह्रास आई रु.१४२ अर्ब ७७ करोडमा झरेको छ । भन्सार विभागका अनुसार कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.५ प्रतिशत र ९०.५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ८.७ प्रतिशतले ह्रास आई रु १३ अर्ब ५३ करोड तथा कुल पैठारीमा १.६ प्रतिशतले ह्रास आई रु. १२९ अर्ब २४ करोडमा झरेको छ । आव २०७९/८० को प्रथम महीनामा अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः८.९ रहेकोमा आव २०८०/८१ को सोही अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः९.६ रहन आएको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा फलाम तथा फलामका उत्पादनहरु, यार्न, ऊनी गलैंचा, अलैंची, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, उनी फेल्टका उत्पादन, जुस, पामतेल, चिया, जडीबुटी, कुकुर बिरालाका आहारा, पिना, पश्मिना शल, प्लाईउड, अदुवा, तामा तथा तामाका उत्पादन, कपडा, चाऊचाऊ प्रमुख रुपमा रहेका छन् ।

समीक्षा अवधिमा फलाम तथा तिनका उत्पादनको निर्यातमा ७३.४ प्रतिशतले वृद्धि भई रु १ अर्ब २४ करोड पुगेको छ । सो अवधिमा यार्नको निर्यातमा २१.५९ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ७ करोड पुगेको छ । ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा ३.७४ प्रतिशतले वृद्धि भई रु. ९६ करोड पुगेको छ । तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा २१.०३ प्रतिशतले वृद्धि भई रु. ८७ करोड पुगेको छ । समीक्षा अवधिमा जुट तथा जुटका उत्पादनको निर्यातमा समीक्षा अवधिमा १.८७ प्रतिशतले ह्रास आई रु. ६५ करोडमा सीमित भएको छ ।

यसै गरी अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्टको निकासीमा समीक्षा अवधिमा १०.०४ प्रतिशतले ह्रास आई रु ५८ करोडमा सीमित भएको छ । समीक्षा अवधिमा जुसको निकासीमा ६१.७२ प्रतिशतले वृद्धि भई रु. ५१ करोडमा सीमित भएको छ । पामतेलको निर्यातमा ८८.४६ प्रतिशतले ह्रास आई रु ४३ करोडमा सीमित भएको छ ।
कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा समीक्षा ३२१.९९ प्रतिशतले वृद्धि भई रु ९६ करोड पुगेको छ । यसै गरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि समीक्षा अवधिमा १.८५ प्रतिशतले वृद्धि भई रु ४२ करोड पुगेको छ । यसैगरी समीक्षा अवधिमा अदुवाको निर्यातमा २१९.३१ प्रतिशतले वृद्धि भई रु २४ करोड पुगेको छ ।

विगत केही वर्षहरुमा नेपालको कुल निर्यातमा खाद्य तेलहरु (भटमास, पाम र सूर्यमुखी तेल )को हिस्सा उल्लेख्य रहेको चालु आर्थिक वर्षमा भने यी वस्तुहरुको निर्यातमा भारी ह्रास आएको छ । आर्थिक वर्ष २०७९/८० को प्रथम महिनामा नेपालको कुल निर्यातमा यी तीनवटा वस्तुहरुको हिस्सा ३६.५९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको प्रथम महिनामा यो हिस्सा ३.६ प्रतिशतमा खुम्चिई रु ४८ करोडमा सीमित भएको छ । नेपालको निकासी व्यापारमा प्रमुख स्थान आगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा २०.८४ प्रतिशतले ह्रास आई रु ८ अर्ब ४८ करोडमा झरेको छ । भारततर्फको निकासीमा ह्रास आउनुमा भारततर्फ हुने खाद्य तेलहरु (भटमास, पाम र सूर्यमुखी तेल )को रु.४ अर्ब ९४ करोड बराबरको ह्रास आउनु नै प्रमुख कारणका रुपमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x