४ जलविद्युत् कम्पनीले दिए हकप्रद निष्कासनका लागि निवेदन
काठमाडौं, २५ भदौ । ४ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । लिवर्टी इनर्जी कम्पनी, ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले भदौ २१ गते र बरुण हाइड्रोपावर कम्पनीले भदौ २२ गते हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् ।
लिवर्टी इनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको हो ।
त्यस्तै ङादी ग्रुप पावर कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि निवेदन दिएको हो । यो कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ ।
सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
आँखुखोला जलविद्युत् कम्पनीले हाल कायम चुक्तापूूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद शेयर विद्यमान शेयरधनीलाई निष्कासन गर्नेछ ।
त्यस्तै बरुण हाइड्रोपावर कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था गरिएपछि हाइड्रोपावर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।
यी कम्पनीहरूलाई बोर्डले हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएपछि बुक क्लोजको मिति तोक्नेछन् । सो मितिसम्म शेयर खरिद गर्ने कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । सो मितिपछि शेयर खरिद गर्नेले यी कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छैनन् ।