चाडपर्वले कर्जाको माग बढाउँदै, पछिल्लो २७ दिनमा ३४ अर्बको कर्जा लगानी,अर्थतन्त्र चलायमान होला?
काठमाडौं, २९ भदौ । बैंक तथा वित्तीय संस्थाहरूमा क्रमशः कर्जाको माग बढ्न थालेको छ । दशैं, तिहार लगायत चाडवाड नजिँकिँदै गर्दा र आर्थिक क्रियाकलाप समेत बढ्दै जाँदा बैंकमा ऋणको माग पनि बढ्दै गएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौमा मात्रै बैंक तथा वित्तीय संस्थाले ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि साउनमा बैंकहरूको ऋण लगानी उल्टो १७ अर्ब घटेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल ऋण लगानी ४८ खर्ब ५९ अर्ब रुपैयाँ रहेकोमा भदौ २७ गतेसम्म बढेर ४८ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । यसले कर्जाको माग बढ्दै गएको देखाउँछ ।
चाडवाड नजिँकिँदै गएकाले आगामी दिनमा थप कर्जा प्रवाह हुने र शिथिल अर्थतन्त्रमा केही आशाको सन्चार गराउने अर्थशास्त्री डा.दिलनाथ दङ्गाल बताउँछन ।
बजारमा छैन चहलपहल
कोभिडदेखि खुम्चिएको व्यापार यसपालि फस्टाउने व्यापारीको अपेक्षा थियो । तीजदेखि तिहार-छठसम्म मात्रै बर्षभरिको झण्डै ६० प्रतिशत व्यापार हुन्छ । तर तीज सुरु हुनै लाग्दा पनि बजारमा खासै रौनक छैन । तीज आउन अब केही दिनमात्रै बाँकी छ । तर अघिल्ला वर्षहरुमा यतिबेला काठमाडौंका न्यूरोड, असन, इन्द्रचोकका गल्लीमा हिडिनसक्नु भीड हुन्थ्यो । व्यापारीलाई भ्याइनभ्याई हुने यी दिन यस वर्ष भने खासै ब्यापार नभएको ब्यापारी बताउँछन् ।
राष्ट्र बैंकको नीति, बैंकको उच्च ब्याजदर, सहकारीमा आएको संकटको र महँगिको असर समग्र बजारमा परेको छ । निजी क्षेत्रको मनोबल बढाउने भने पनि सरकारले नीतिगत सुधार नगर्दा मुलुकमा आर्थिक संकट गहिरिन सक्ने देखिन्छ । यसले यो बर्षको सबै चाडपर्बको ब्यापारमा ५० देखि ६० प्रतिशतले कमि आउने स्वयम् ब्यापारीहरुको अनुमान छ ।