दसैँ, तिहारमा हुने कालोबजारी रोक्न निरन्तर बजार अनुगमन हुन्छ: मन्त्री रिजाल

काठमाडौं, ९ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दसैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन् । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार अनुगमन गर्ने बताए ।
उनले शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, उर्जालाई स्वच्छ एवं नवीकरणीय उर्जाले विस्थापित गर्ने नीति लिएको पनि उल्लेख गरे । तत्कालै देशभित्र नवीकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँसलगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने बताए ।
मन्त्री रिजालले उद्योगीहरुले व्यवसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रूपमा विकास गर्न आग्रह गरे । सबै ग्याँस उद्योगले आम जनताको जीउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गरे ।