नेपालमा भित्रने आधाभन्दा बढी एफडीआई बागमती प्रदेशमा
काठमाडौं, ११ असोज । नेपालमा अघिल्लो आर्थिक वर्ष २०७८७९ सम्ममा २ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको नेपाल राष्ट्र बैंकको बुधवार सार्वजनिक प्रतिवेदनले देखाएको छ । प्रतिवेदनका अनुसार नेपालमा विभिन्न ५७ ओटा मुलुकबाट एफडीआई भित्रने गरेको छ ।
नेपालमा सबैभन्दा बढी एफडीआई भित्रने मुलुकमा भारत पहिलो स्थानमा रहेको छ । कुल एफडीआईमा भारतबाट हालसम्म ८८ अर्ब ६० करोड रुपैयाँ बराबरको एफडीआई भित्रिएको छ । एफडीआई बढी भित्रने मुलुकको दोस्रो स्थानमा रहेको चीनबाट ३३ अर्ब ४० करोड रुपैयाँ बराबरको आएको छ । यस्तै आयरलाइन्डबाट २० अर्ब ९० करोड रुपैयाँ बराबरको एफडीआई भित्रिएको छ । यस्तै सिंगापुरबाट १६ अर्ब १० करोड र सेन्ट किट्स तथा नेभिसबाट १५ अर्ब १० करोड रुपैयाँ बराबरको एफडीआई भित्रिएको छ ।
नेपालमा भित्रने एफडीआई प्रदेशगत रुपमा हेर्दा बागमतीमा आधाभन्दा बढी रहेको छ । यो प्रदेशमा कुल एफडीआईको ५५ प्रतिशत भित्रिएको छ । यस्तै दोस्रो स्थानमा रहेको कोशीमा १७ प्रतिशत र तेस्रो स्थानमा रहेको गण्डकी प्रदेशमा १६.८ प्रतिशत एफडीआई भित्रिएको छ । त्यसपछि मधेश प्रदेशमा ८ प्रतिशत भित्रँदा अन्य प्रदेशमा दोहोरो प्रतिशतमा एफडीआई भित्रन सकेको छैन ।