लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना नियन्त्रण
काठमाडौंको थलीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा ३ ख ४० ३६ नम्बरको बस चालक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ का २३ वर्षीय विक्रम तामाङ, बा २ ज ५६ ३९ नम्बरको ट्याक्सी चालक सिन्धुलीको सुनकोशी गाउँपालिका २ का २५ वर्षीय सुरज श्रेष्ठ र बा २ ज ३८ ७६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ८ का ४३ वर्षीय उमानाथ चौलागाँईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बौद्ध पठाईएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त बौद्धको संयुक्त टोलिले आज २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए ।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।