इजरायल हमास युद्धपछि खाडीमा विश्वको नजर, ४ प्रतिशतले बढ्यो तेलको मूल्य
![इजरायल हमास युद्धपछि खाडीमा विश्वको नजर, ४ प्रतिशतले बढ्यो तेलको मूल्य](https://arthakoartha.com/wp-content/uploads/2023/10/IMG_8501.jpeg)
काठमाडाैं,२१असाेज । इजरायल र हमास विद्रोहीबीच युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ।सोमबार विश्व बजारमा तेलको मूल्य ४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
सोमबार प्रति ब्यारेल तेलको मूल्य दुई देखि ४ डलरसम्म बढेको छ। यस्तै, तेल निर्यात हुने प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुच’ प्रभावित भए त्यसले थप संकट ल्याउने जनाइएको छ। यो क्षेत्र तेल निर्यातकर्ताहरुका लागि प्रमुख मार्ग हो। आउने दिनमा युद्धले कस्तो रुप लिन्छ भन्ने पनि तेलको मूल्य निर्राधण हुनेछ।
शनिबार हमास समूहले इजरायलमाथि ‘सरप्राइज’ आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। इजरायल र गाजामा गरेर हालसम्म १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भइसकेको छ। नेपालीसहित लाखौं मानिस बंकरमा छन्। अहिले पनि इजरायल र गाजामा रकेट आक्रमण भइरहेको छ। जमिनमा पनि हमास विद्रोही र इजरायली सेना संघर्षमा छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको घोषणा गरेसँगै दशकौंको द्वन्द्व यसपटक छिट्टै रोकिने सम्भावना देखिँदैन। रसिया र युक्रेन युद्धले विभाजित विश्व यो इजरायल-हमास संघर्षले थप विभाजित हुने देखिएको छ।
धेरै अरब राष्ट्रहरु प्यालेस्टाइनी स्वतन्त्रताको पक्षमा सुरु देखि नै रहँदै आएका छन्। पछिल्लो समय इजरायलले प्रविधि र इन्टेलिजेन्स क्षेत्रमा गरेको प्रगतीले प्यालेस्टाइनी पक्षधर देशहरु पनि इजरायलसँग सहकार्यमा छन्। प्यालेस्टाइनलाई लिएर भारतको नीति परिवर्तन हुँदै गएको विश्लेषणसमेत गरिएको छ। चीनले भने खाडीमा शान्ति कायम गराउन टु स्टेट सोलुसन अघि ल्याएको छ।
विशेषगरी अहिले विश्वको नजर खाडी देशहरुमा छ। युद्धको असर खाडीबाट निर्यात हुने तेलमा पर्न सक्ने अनुमान छ।
इरानले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताए पनि हमास आक्रमणको समर्थन गरेको छ। सो आक्रमण दशकौं देखिको उत्पीडनविरुद्ध रहेको इरानको तर्क छ। इरानले तेल आपूर्ति बन्द गरे विश्वभर ३ प्रतिशत तेल निर्यात रोकिने प्रक्षेपण गरिएको छ।
कतारले अहिले इजरायल र गाजामा देखिएको संघर्ष निकै गम्भीर रहेको जनाएको छ। तर यसको प्रमुख कारण प्यालेस्टाइनीहरुको अधिकार हनन भइरहनु रहेको उसले उल्लेख गरेको छ। कतारले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई अन्तर्राष्ट्रिय कानुन पालना गर्न भन्ने आग्रह गरेको छ।
संयुक्त अरब इमिरेट्सले आक्रमण रोकेर नागरिकको ज्यान रक्षा गर्न भनेको छ। कुवेतले पनि शान्ति स्थापनाको आह्वान गरेको छ। तर उसले अहिलेको परिस्थितिको जिम्मेवार इजरायल रहेको जनाइएको छ। ओमनले दुवै पक्षलाई संयम बन्न आग्रह गरेको छ। इजिप्टले अहिलेको परिस्थितिले गम्भीर अवस्था सिर्जना हुने चेतावनी दिएको छ।