रेमिट्यान्स रकममध्ये ५८ प्रतिशत दैनिक उपभोगमा खर्च

काठमाडौं । रेमिट्यान्स आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ विषयक प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो ।
लुम्बिनी प्रदेशका ५ जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका ३८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनअनुसार रेमिट्यान्सका रुपमा भित्रिएको रकममध्ये दैनिक उपभोगमा मात्र ५८.७८ प्रतिशत खर्च हुने गरेको देखिएको छ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २२.४८ प्रतिशत, ऋण तिर्न १०.७ प्रतिशत र मनोरञ्जन तथा अन्य क्षेत्रमा ८.६७ प्रतिशत खर्च गर्ने गरेको अध्ययनमा उल्लेख छ ।
अध्ययनमा समेटिएका परिवारमध्ये वैदेशिक रोजगारीअन्तर्गत ५ वर्षभन्दा कम अवधि काम गर्ने ३६.८२ प्रतिशत र ५ वर्षभन्दा बढी काम गर्ने ६३.१८ प्रतिशत छन् । आर्थिक अवस्था सुधार्न वैदेशिक रोजगारीमा जानुपर्ने प्रमुख कारण भएको ४१.८० प्रतिशतले बताएका छन् ।
अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्नमध्ये सीपमूलक तालिम नलिई जाने ७६ प्रतिशत छन् भने तालिम लिएर जाने २४ प्रतिशत छन् । वैदेशिक रोजगारीबाट वार्षिक ५ लाखसम्म आम्दानी गर्ने ४२.३० प्रतिशत, ५ देखि १० लाखसम्म ३९.६९ प्रतिशत र १० लाखभन्दा माथि आयआर्जन गर्ने १८.१ प्रतिशत रहेको अध्ययनमा जनाइएको छ ।
१० वर्षको रेमिट्यान्स आप्रवाह वार्षिक औसत ११.१३ प्रतिशत छ । आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब ४३ अर्ब २९ करोड रेमिट्यान्स रकम नेपाल भित्रिएको थियो । आर्थिक २०७९/८० सम्म आइपुग्दा १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ पुगेको देखिन्छ ।