अब ५० र ४५० किलोका ग्यास सिलिण्डर बेच्नेलाई कारबाहि
काठमाडाैं, २३ असाेज । अब ५० र ४५० किलोका ग्यास सिलिण्डर विक्री गर्ने व्यवसायी माथि कारबाहि हुने भएकाे छ । सार्वजनिक लेखा समितिले उक्त वितरणमा रोक लगाउन निर्देशन दिंदै त्यस्ता सिलिण्डर बेच्ने उद्योगमाथि कारबाही गर्न भनेको हाे।
समितिले कालोबजारी र सिण्डिकेट तथा उच्च मूल्य वृद्धिबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय तहमा अनिवार्यरुपमा कम्तीमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएकाे छ।
‘ग्यास उद्योगले होटललगायत औद्योगिक प्रयोजनका लागि ५० र ४५० किलोका सिलिण्डर विक्री वितरण गरेको विषयमा के कस्तो भएको हो? स्पष्ट पार्न पत्राचार गरेकोमा हालसम्म जानकारी नगराएकोले ३ दिनभित्र सो सम्बन्धमा भए गरेका कामकारवाहीका कागजातसहितको विवरण समितिलाई उपलब्ध गराउन, त्यसैगरी यस्तो गैरकानूनी कार्यलाई तत्काल रोक लगाई गैरकानूनी कार्य गर्ने ग्यास उद्योगलाई कानूनबमोजिम कारवाही गर्न समिति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश गर्दछ’, समितिको निर्णयमा उल्लेख छ।
यस्तै समितिले चिनी लगायत वस्तुको अवैध आयात रोक्ने र बजारमा मूल्य नियन्त्रण सम्बन्धमा सरकारलाई ६ बुँदे निर्देशन दिएको छ।