काठमाडौं-धनगढीकाे हवाई भाडा रु १७ हजार पुर्याइयाे
सुदूरपश्चिम, २९ असोज । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो ।
काठमाडौं–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौं–धनगढीको हवाई भाडा रु ७ हजार ९ सयबाट वृद्धि गरी रु १७ हजारभन्दा बढी पुर्याइएकाे गुनासो यात्रुको छ ।
चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए ।
हाल काठमाडौं–धनगढीको भाडादर रु १४ हजार सातसय एकदेखि रु १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाडौंसम्मको भाडा भने निम्नतम रु सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडाैंमा रु चारसय र धनगढीमा रु पाँच सय तोकिएको छ ।
धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौं–धनगढी–काठमाडौंसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ ।