परराष्ट्रमन्त्री साउद आइतबार अमेरिका भ्रमणमा जाँदै

काठमाडौं, १० कार्तिक । परराष्ट्रमन्त्री एनपी साउद आउँदो आइतबार (अक्टोबर २९)मा अमेरिका भ्रमणमा जाने भएका छन् ।
अक्टोबर ३० (सोमबार) परराष्ट्रमन्त्री साउदले वासिंटनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)की प्रशासक सामन्था पावर र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
यस्तै, उनले अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारी र अमेरिकी संसद्को नेपाल ककसका उपाध्यक्ष एवं सांसद माइक केरीसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।