नेपाल पत्रकार महासंघद्वारा भूकम्पबाट प्रभावित पत्रकारलाई राहत

काठमाडौं, २२ कात्तिक । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित सञ्चार संस्था तथा पत्रकारलाई नेपाल पत्रकार महासंघले राहत उपलब्ध गराउने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघले वैदेशिक शाखा र अन्य सङ्घ संस्थामार्फत राहत सङ्कलनका लागि पहल गर्ने जनाएको छ ।
भूकम्पले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको असर र श्रमजीवी पत्रकारको पक्षमा गरिएको आन्दोलनका विषयमा पनि छलफल भएको महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए ।
पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र बनाउन महासंघले प्रयास गरिरहेको उनको भनाइ थियो ।
अध्यक्ष पोख्रेलले कान्तिपुर मिडिया ग्रुपले महासंघलाई विभिन्न आरोप लगाउनु भन्दा गैरकानुनी ढङ्गबाट निष्कासित गरिएका पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन आग्रह गरे ।
महासंघका महासचिव रोशन पुरीले सङ्कलित राहत महासंघकाे केन्द्रीय समितिका पदाधिकारी, सदस्य तथा प्रदेश र जिल्ला समितिका पदाधिकारीबाट सङ्कलन गरेर प्रभावित क्षेत्रका सञ्चार संस्था र पत्रकारको विवरणका आधारमा वितरण गरिने बताए ।
उनले भूकम्पबाट दुईवटा सञ्चार संस्थाको भवन पूर्णरुपमा क्षति भएको जनाउँदै महासंघका दुई जना केन्द्रीय सदस्यसहित दर्जनौं पत्रकारले बास गुमाएका बताए ।