Date

मङ्ल, चैत्र २५, २०८१
Tue, April 8, 2025

उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमा बाहिर

उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमा बाहिर

काठमाडौं, २४ कात्तिक ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५० प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । तर सरकारले राखेको मूल्यवृद्धिको अधिकतम सीमाको लक्ष्यभन्दा वास्तविक मूल्यवृद्धि एक प्रतिशत बिन्दुले बढी देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति आठ दशमलव ३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति छ दशमलव ८१ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७ दशमलव ६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८ दशमलव २२ प्रतिशत, फलफूलको १४ दशमलव ०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव २३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ दशमलव ९२ प्रतिशतले बढेको छ । तर, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ६१ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२ दशमलव ११ प्रतिशत, शिक्षाको नौ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको आठ दशमलव ०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको छ दशमलव २५ प्रतिशतले बढेको छ ।

त्यस्तै, यातायात क्षेत्रमा एक दशमलव ६२ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । गत असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १० दशमलव २३, तराईको पाँच दशमलव ६६, पहाडको सात दशमलव ३८ प्रतिशत र हिमालको १० दशमलव २४ प्रतिशत रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x