एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रमः स्वास्थ्य सेवा प्रणालीको डिजिटल रूपान्तरणमा क्रान्ति
काठमाडौं, २९ मंसिर । एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा कोशेढुङ्गा र क्रान्ति नै सावित भएको छ ।
उक्त कार्यक्रमको सफलतासँगै बाग्मती प्रदेश सरकारले पनि टलिमेडिसिन सेवालाई अन्य अस्पताल र स्वास्थ्य केन्द्रमा पनि रेप्लिकेट अर्थात लागु गरेको छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) पहल अन्तर्गत सन् २०१९ मा प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ यो कार्यक्रम शुरु गरिएको थियो ।
पहलको कार्यान्वयनसँगै ग्रामीण भेगका १५,००० भन्दा बढी घरधुरीका ८० हजार भन्दा बढी स्थानियवासीहरुले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएकाे बताइएकाे छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “यो कार्यक्रमले हामीले समुदायको विकासमा कसरी योगदान पुर्याएका छौं भन्ने उजागर गर्दछ । यहाँ म ‘हामी तपाइकै लागि’ भन्ने हाम्रो ब्रान्ड थिम पुनः दोहोर्याउन चाहन्छु । यसको अर्थ एनसेल नेपाल र नेपालीको सेवा र विकासमा योगदान पुर्याउन प्रतिवद्ध छ । डिजिटल राष्ट्र निर्माण र इको–सिस्टमको रूपान्तरणमा योगदान पुर्याउँदै, प्रविधि र डाटामा आधारित स्वास्थ्य सेवा विधिहरू प्रयोग गरी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न पाउँदा अत्यन्तै खुसी छौं ।”
यो कार्यक्रमको छुट्टै र नौलो विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) हो ।
एनसेलको धुलिखेल अस्पतालसँगको यो संयुक्त पहलले देशको स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण छाप छोड्न सफल भएको छ ।
धुलिखेल अस्पतालका अनुसार काभ्रेको धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकाले पीएचपीलाई रेप्लिकेट गरेको छन् भने अन्य नगरपालिकाहरुले यसको कार्यान्वयन गर्न चासो राखेका छन् ।
यसैगरी, चारवटा सामुदायिक स्वास्थ्य केन्द्रहरुमा टेलिमेडिसिन सेवाको सफल संचालनपछि बाग्मती प्रदेश सरकारले धुलिखेल अस्पतालसँगको सहकार्यमा दुईवटा ग्रामीण अस्पताल र तीनवटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवाको सोही मोडललाई कार्यान्वयनमा ल्याएका छन् ।
धुलिखेल अस्पतालका पब्लिक हेल्थ एन्ड कम्यूनिटी प्रोग्राम डाईरेमक्टर डा. विराज कर्माचार्यले भने, “एनसेल र धुलिखेल अस्पतालको यो सहकार्यले दुरदराजका समुदायहरुलाई स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा क्रान्ति नै ल्याएको छ । बाग्मती प्रदेश सरकारले धुलिखेल अस्पतालको सहकार्यमा रामेछापको मन्थली अस्पताल, रसुवाको जिवजिवे ग्रामिण अस्पताल, सिन्धुलीको लाम्पनटर प्राथमिक स्वास्थ्य केन्द्र, धादिङ्को सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र नुवाकोटको खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा रेप्लिकेट गरेको छ । यी अस्पतालहरु र स्वास्थ्य केन्द्रहरुका लागि धुलिखेल अस्पतालले एक हब अस्पतालको रुपमा रही सेवा प्रदान गर्दैछ र यसले १ लाख ५० हजार भन्दा बढी स्थानियहरुलाई टेलिमेडिसिन सेवाको लाभ दिनेछ ।”
अत्याधुनिक टेलिमेडिसिन किट मार्फत दुरदराजमा रहेका स्थानियहरुले आफ्नो नजिकैको स्वास्थ्य केन्द्रमार्फत आफ्नै गाउँठाउँमा धुलिखेलमा रहेका विषेशज्ञ डाक्टरहरुबाट स्वास्थ्य सबन्धी परामर्श लिन सक्छन् । उनीहरुलाई धुलिखेल अस्पताल वा नजिकैको अन्य कुनै अस्पतालमा गई रहनु पर्ने आवश्यकता रहन्न ।
एनसेलको सीएसआर अन्तर्गत स्वास्थ्य क्षेत्र उच्च प्राथमितामा रहेको क्षेत्रहरु मध्ये एक हो । डिजिटल प्रविधिमा आधारित भई यस किसिमको स्वास्थ्य सेवा प्रदान गर्न एनसेलले २०१९ देखि धुलिखेल अस्पतालसँग सहकार्य गर्दै आएको छ र एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेल धेरै भन्दा धेरै जन समुदायलाई लाभ लिने सामाजिक कार्यहरु गर्न प्रतिबद्ध रहेकाे बताइएकाे छ ।