सरकारी खर्च धान्न मुश्किल, आर्थिक बर्षको सुरुवाती चरणमै सरकारी कोष १ खर्ब बढीले घाटामा !
काठमाडौं, १४ पौष । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै सरकारले १ खर्ब ३१ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । राजस्वले मुस्किलले चालु खर्च धानिरहेको अवस्थामा सरकारले खर्च धान्नकै लागि सार्वजनिक ऋण लिनु परेको देखिन्छ ।
पौष ११ गतेसम्मको तथ्यांक हेर्ने हो भने सरकारको खर्च र राजस्व सहितको आम्दानीका बीचमा १ खर्ब ११ अर्ब रुपैयाँको खाडल छ । राजस्व र सहायतागरि जम्मा ४ खर्व ७२ अर्व संकलन गरेको छ भने चालू, विकास र वित्तीय व्यवस्थापनका लागि ५ खर्व ८३ अर्व रुपैयाँ खर्च गरिसकेको छ ।
यो खाडल पुर्न सरकारले आर्थिक वर्षको सुरुवाती महिनामै ठूलो मात्रामा ऋण लिनु परेको छ । यस वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको सरकारले ४ खर्ब ५२ अर्ब रुपैयाँ आन्तरिक र बाह्य ऋण उठाएर जोहो गर्नुपर्ने हुन्छ ।
अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आंकडा अनुसार साउनयता सरकारले मंसिरसम्म आन्तरिक ऋण १ खर्ब ११ अर्ब ३१ करोड उठाइसकेको छ । बाह्य ऋण प्राप्ती भने मात्र १९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । यसबीचमा सरकारले ५९ अर्ब ३७ करोड रुपैयाँ सार्वजनिक ऋणको साँवा भुक्तानीमा खर्च गरेको छ । लिएको ऋणबाट तिरेको ऋणको अंश घटाउँदा चालु आवको पहिलो पाँच महिनामा खुद सार्वजनिक ऋण ७१ अर्ब ९० करोडले बढेको छ । असार २०८० सम्म २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण मंसिर २०८० मा आइपुग्दा २३ खर्ब ७१ अर्ब पुगेको हो ।