पर्यटकको आगमन दरमा सुधार, अप्रिलमा १ लाख ११ हजार विदेशी पर्यटक भित्रिए
काठमाडौं, २१ वैशाख । सन् २०२४ काे अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।सन् २०२४ मार्चमा एक लाख २८ हजार भित्रिएका थिए।
अप्रिलमा सबैभन्दा धेरै भारतबाट र त्यसपछि क्रमशः अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, बांग्लादेश, फ्रान्स, जर्मनी, रसिया र मलेसिया लगायतका देशबाट पर्यटक नेपाल आएका छन्।
अप्रिलमा छिमेकी देश भारतबाट ३० हजार १५८ पर्यटक नेपाल आएका छन्। दोस्रो स्थानमा अमेरिका छ। अमेरिकाबाट ९ हजार ९४७ जना पर्यटक आएका छन्। गत महिना अमेरिका तेस्रो स्थान थियो। गत महिना दोस्रो स्थानमा रहेको चीन यो पटक तेस्रो स्थानमा छ। चीनबाट ९ हजार ७५० जनाले नेपाल भ्रमण गरेका छन्।
चौथो स्थानमा रहेको बेलायतबाट ५ हजार ३९१ पर्यटक आएका छन् पाँचौँ स्थानमा रहेको अस्ट्रेलिया ४ हजार ११० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यस्तै बांग्लादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७५५, जर्मनीबाट ३ हजार २७०, रसियाबाट २ हजार ९७७ र दसौँ नम्बरमा रहेको मलेसियाबाट २ हजार ३ सय १० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
संख्यात्मक हिसाबले गत वर्षको अप्रिलभन्दा यो वर्ष १२.७५ प्रतिशतले विदेशी पर्यटक आगमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।नेपाल आउने विदेशी पर्यटकको संख्या बिस्तारै काेभिड अघिकै अवस्थामा फर्किन थालेको छ।