राजश्व परिचालनमा प्रभावकारी हुन नसके अर्थतन्त्र अघि बढ्दैन: अर्थमन्त्री पौडेल
काठमाडाैं, २७ भदाै ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विभागका अधिकारीहरूलाई राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन्।
काठमाडौँमा बिहीबार भन्सार विभागको कार्यक्रममा बोल्दै उनले राजश्वको लक्ष्य मात्र पूरा गर्ने नभई अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न निर्देशन दिएका हुन् ।
राजश्व परिचालनमा कुनै पनि सम्झौता नहुने उल्लेख गर्दै उनले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए। अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौती रहेको बताए।
यस्तै कैयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने उनको भनाइ छ ।