बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला, योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडाैं, २६ पुस । नेपाल बिमा प्राधिकरणकाे सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला भएकाे छ । आज प्राधिकरणको गठित सिफारिस समितिले एक सूचना जारी गर्दै अध्यक्ष पदमा नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन आह्वान गरेको हो ।
अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव भएको, फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएको लगायतका योग्यता भएको हुनुपर्नेछ ।३० वर्ष उमेर पूरा भएर ६५ वर्षसम्मका योग्यता पुगेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। आवेदनका लागि ७ हजार ५०० रुपैयाँ दस्तुर लाग्नेछ।
योग्य तथा इच्छुक नागरिकले आवश्यक कागजातसहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरुबाट सर्टलिस्ट निकालेर तीन जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा पठाउनेछ। मन्त्रिपरिषद्ले ती मध्येबाट एक जनालाई अध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ।