६ महिनामा वाणिज्य बैंकहरूले सरकारलाई बुझाए १२ अर्ब बढी आयकर
काठमाडाैं, १९ माघ । चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा सरकारलाई वाणिज्य बैंकहरूले १२ अर्ब बराबरको आयकर तिरेका छन् । वाणिज्य बैंकहरूले पुस मसान्तसम्म १२ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ आयकर बुझाएका हुन् ।
गत आर्थिक वर्षको पुससम्म बैंकहरूले कुल १२ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ आयकर बुझाएका थिए ।
समीक्षा अवधिमा नबिल बैंकले सबैभन्दा बढी १ अर्ब ३९ करोड २१ लाख ४५ हजार रुपैयाँ कर तिरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २१ करोड ७६ लाख ७२ हजार रुपैयाँ र प्रभु बैंकले १ अर्ब १८ करोड ७४ लाख ३५ हजार रुपैयाँ आयकर तिरेको छ ।
यसैगरी, ग्लोबल आईएमई बैंकले १ अर्ब १५ करोड २२ लाख, एभरेष्ट बैंकले १ अर्ब ३ करोड २० लाख ४१ हजार, एनएमबी बैंकले ८३ करोड ५५ लाख, प्राइम कर्मशियल बैंकले ७९ करोड २३ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७० करोड ३१ लाख, हिमालयन बैंकले ६५ करोड २८ लाख र लक्ष्मी सनराइज बैंकले ५० करोड ७५ लाख आयकर तिरेका छन् ।
यस्तै, सानिमा बैंकले ४५ करोड ७१ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ४४ करोड ३० लाख रुपैयाँ, कुमारी बैंकले ४१ करोड ४६ लाख रुपैयाँ, कृषि विकास बैंकले ३९ करोड पाँच लाख ६३ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले ३४ लाख ५९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३२ करोड ७० लाख रुपैयाँ, सिटिजन्स बैंकले २६ करोड ८४ हजार रुपैयाँ, सिद्धार्थ बैंकले २३ करोड २४ लाख ५४ हजार रुपैयाँ र एनआईसी एशिया बैंकले छ करोड ५० लाख २७ हजार रुपैयाँ आयकर तिरेका छन् । नेपाल बैंकको भने आयकर बापत तिर्नुपर्ने रकम ४ करोड २५ लाख ४४ हजार रुपैयाँ ऋणात्मक छ ।