धितोपत्रको मूल्य निर्धारणसम्बन्धी व्यवस्था परिवर्तन, १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य हुने

काठमाडाैं, २२ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबारमा हुने चलखेल रोक्न हाल भइरहेको कम्पनीहरूको धितोपत्रको मूल्य निर्धारणसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई चौथोपटक संशोधन गरी अन्तिम १५ मिनेटको कारोबार समयसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने व्यवस्था गरेको हो ।
अन्तिम कारोबार समय २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने गरी विनियमावली संशोधन प्रस्ताव बोर्डले स्वीकृत गरेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बताए ।
बोर्डले फागुन १८ गते संशोधित नियमावली प्रस्ताव स्वीकृत गरेको हो । तर, नेप्से सञ्चालक समितिले लागू गर्ने मिति तोक्न भने बाँकी छ । उक्त सत्रमा भएका कारोबारको विवरण नेप्सेको वेबसाइटमार्फत कारोबार भइरहेको समय (रियल टाइममा) नै सार्वजनिक हुने छन् ।
हाल नियमावलीको उपविनियम ७ मा ५ मिनेटको अन्तिम कारोबार सत्रमा हुने कारोबारबाट कायम भएको औसत मूल्य नै अन्तिम शेयर मूल्य हुने व्यवस्था छ । तर, यो प्रावधान लागू नभई कुनै कम्पनीको अन्तिम कारोबारमा कायम भएको मूल्य नै अन्तिम कारोबार मूल्य कायम हुँदै आएको छ ।