अर्थसहित ६ वटा समितिको बैठक बस्दै, भन्सार सम्बन्धी विधेयक उपर दफावार छलफल हुने

काठमाडौं, ५ चैत्र । संघीय संसद अन्तर्गत रहेका विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक लेखा समिति, अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।
सबै समितिका बैठक बिहान ११ देखि २ बजेको बीचमा सिंहदरबारमा बस्ने छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक लेखा समितिको २३औँ प्रतिवेदनको प्रारम्भिक मस्यौदा उपर छलफल तथा उजुरी अध्ययन गर्ने कार्यसूची रहेको छ ।
अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगति लगायत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने कार्यक्रम छ ।
यसैगरी, विधायन व्यवस्थापन समिति बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुनेछ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल हुनेछ ।