Date

शनि, चैत्र ८, २०८१
Sat, March 22, 2025

नेपालको निर्यातमा उछाल: ८ महिनामा १० वस्तुबाट एक खर्ब बढी आम्दानी

नेपालको निर्यातमा उछाल: ८ महिनामा १० वस्तुबाट एक खर्ब बढी आम्दानी

काठमाडाैं, ८ चैत्र । पछिल्लो आठ महिनामा नेपालको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार विभागका अनुसार, २०८१ साउनदेखि फागुनसम्म नेपालले १० प्रमुख वस्तुको निर्यातबाट एक खर्ब ४ अर्ब १४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको छ। यो वृद्धि मुख्य रूपमा भटमास तेल र सूर्यमुखी तेलको निर्यातमा भएको वृद्धिले सम्भव भएको हो। यी दुई वस्तु मात्रै समग्र निर्यातको ३५ प्रतिशत हिस्सा ओगट्छन्।

निर्यातमा मुख्य योगदान गर्ने वस्तुहरूमा भटमास तेल ४७ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ, सूर्यमुखी तेल ७ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ, धागो ९ अर्ब १९ करोड रुपैयाँ, ऊनी गलैंचा तथा कार्पेट ७ अर्ब २१ करोड रुपैयाँ, प्लाइउड ५ अर्ब ८८ करोड रुपैयाँ, फलामे पाता ५ अर्ब ८६ करोड रुपैयाँ, अलैंची ५ अर्ब ८४ करोड रुपैयाँ, तयारी कपडा ५ अर्ब ४९ करोड रुपैयाँ, फलफूलको जुस ४ अर्ब ८८ करोड रुपैयाँ, र जुटबाट बुनिएका कपडा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

नेपालबाट प्रशोधित वनस्पति तेल भारत निर्यात गर्दा भन्सार छुट सुविधा पाइन्छ। भारतीय सरकारले अन्य मुलुकबाट आयात हुने तेलको भन्सार शुल्क बढाएपछि नेपाली उद्योगलाई ठूलो फाइदा पुगेको हो। यसले गर्दा वनस्पति तेल उद्योगले राम्रो व्यवसाय गर्न सफल भएका छन्।

निर्यातमा सुधार भए पनि नेपालको आयात अझै धेरै छ। पछिल्लो ८ महिनामा समग्र आयात ११ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै आयात गरिएका वस्तुहरूमध्ये डिजेल पहिलो स्थानमा रहेको छ। नेपालले ७८ अर्ब ८६ करोड रुपैयाँ बराबरको डिजेल आयात गरेको छ, जुन परिमाणमा वृद्धि भए पनि मूल्यको हिसाबले ११ प्रतिशतले कम हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x