‘जलस्रोत विधेयक २०८१’ पूर्वाधार विकास समितिबाट पारित

काठमाडौँ, ११ चैत्र । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ लाई सर्वसम्मत पारित गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौसारियाको उपस्थितिमा आज सिंहदरबारमा बसेको समितिको ४८औँ बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
जलस्रोतको दिगो विकास, उपयोग र संरक्षण एवम् व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँड, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्यायका आधारमा सुनिश्चित गर्न उक्त विधेयक ल्याइएको हो ।
विस २०८१ असार १४ गते प्रतिनिधिसभामा प्रस्तुत भएको उक्त विधेयक प्रतिनिधिसभामा सामान्य छलफल गरी असार २५ गते दफावार छलफलका लागि प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा पठाइएको थियो । समितिमा नौ महिनाको छलफलपछि विधेयक आज सर्वसम्मत रूपमा पारित भएको हो ।