माउन्ट एभरेस्ट क्लिन अप इनिसिएटिभ–२०२५ अभियानका लागि नेपाल लाइफ र राउन्ड टेबलबीच सहकार्य

काठमाडौँ, १४ चैत । नेपाल लाइफ इन्स्योरेन्स र राउन्ड टेबल नेपालबीच ‘माउन्ट एभरेस्ट क्लिन अप इनिसिएटिभ–२०२५’ अभियानका लागि समझदारी भएको छ ।
बिहीबार काठमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुली र राउन्ड टेबल नेपालका सभापति प्रवेश अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कयाल, राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवाललगायतको उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार माउन्टेनमा रहेको प्लास्टिक जन्य पदार्थलाई संकलन गरेर काठमाडौं तथा बिभिन्न स्थानमा लगेर रिसाइकल गरेर पुनः प्रयोग योग्य बनाइनेछ ।
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविनरमण पराजुलीले भने, ‘एक जना क्लाइम्बरले ८ केजी फोहोर गर्ने रहेछन्, यहि फोहोरलाई काठमाडौं ल्याउने र मिल्नेजति रिसाइकल गर्ने विषयमा राउन्ड टेबलसँग सहकार्य भएको छ ।’
नेपाल लाइफले वैकल्पिक लगानी र लगानी विविधीकरणका लागि विभिन्न क्षेत्रमा लगानी गरिरहेको सीईओ पराजुलीले बताए ।
नेपाल लाइफले यो सफाईका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । यति नै रकम राउन्ड टेबलले पनि सहयोग गर्ने बताइएको छ ।
सो क्रममा राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर व्यवस्थापनका क्षेत्रमा संस्थाले काम गर्दै आएको र नेपाल लाइफसँगको सहकार्यले झनै उत्साहित बनाएको बताए ।
‘राउन्डटेबल नेपालले २५ वर्षदेखि वातावरण, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हो। हामीले अब प्रोजेक्ट केयरको माध्यमबाट विश्व सम्पदाको रूपमा रहेको सगरमाथामा हुने प्रदूषण नियन्त्रणका लागि नेपाल लाइफसँगको पार्टनरमा सफलता हासिल गर्नेछौं। यसले नेपाल विश्वमा स्वस्थ वातावरणको रूपमा रहेको पहिचान गर्नेछ,’ उनले भने।
कार्यक्रममा राउन्ड टेबल नेपालका पूर्वअध्यक्ष नितेशकुमार अग्रवालले पहिलो चरणमा ५ हजार केजी फोहोर ल्याउने बताए । एक केजी काठमाडौं ल्याउन ५ सय खर्च हुने अनुमान राउन्ड टेबलको छ । यो सफाइमा करिब २५ लाख खर्च हुने पनि उनको अनुमान थियो ।
नेपाल लाइफ र राउन्ड टेबलबीच भएको दुईपक्षीय सहमतिपछि सगरमाथा प्रदुषण नियन्त्रणका अध्यक्ष छिरिङ शेर्पाले आफूहरुले ३० वर्षदेखि सफाइ गर्दै आउँदा पनि सबै नियन्त्रण नभएकोले अरु संस्थाको साथ सकारात्मक भएको बताए । यो वर्ष पनि कम्तिमा ४०० जनाले सगरमाथा आरोहण गर्ने, १५०० जना सगरमाथा शिविरमा पुग्ने तयारीमा रहेको उनले बताए । उनले आरोहणमा गएकालाई ल्याउन अनिवार्य गरेको बाहेकको फोहोर बर्सेनी बढ्ने गरेको पनि बताए ।
फोहोर व्यवस्थापनका लागि प्राविधिक पार्टनरमा सगरमाथा प्रदूषण नियन्त्रण कमिटी (एसपीसी) रहेको छ । एसपीसीले सोलुखुम्बुको खुम्बु क्षेत्रमा हुने प्रदूषण व्यवस्थापनका लागि तीन दशकदेखि काम गर्दै आएको छ ।