बागमती प्रदेशले स्थानीय तहलाई दियो सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण

भक्तपुर, १७ चैत्र । स्थानीय तहका जनप्रतिनिधि तथा आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण भक्तपुरमा सम्पन्न भएको छ ।
बागमती प्रदेश सुशासन केन्द्रको आयोजनामा भक्तपुरमा स्थानीय तहका जनप्रतिनिधि प्रमुख, अध्यक्ष, तथा आर्थिक आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण सम्पन्न भएको हो ।
सार्वजनिक खरिद व्यवस्थापनमा विभिन्न समस्या समाधान तथा कसरी यसको समाधान गर्न सकिन्छ भन्ने हेतुका साथ बागमती प्रदेशका ४ जिल्लाका २३ स्थानीय तहलाई उक्त अभिमुखीकरण तालिम दिइएको प्रदेश सुशासन केन्द्रले जानकारी दिएको छ ।
स्थानीय तहको मागका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयको समन्वयमा तयार गरिएको पाठ्यक्रमका आधारमा स्थानीय तहले सार्वजनिक खरिद गर्दा अपनाउनु पर्ने सावधानी र कानुनी पाटोका विषयमा जानकारी दिने हेतुले उक्त कार्यक्रम गरिएको प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपाल कृष्ण न्यौपानेले जानकारी दिए। उनका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले सार्वजनिक खरिदको परिचय कानुनी र संस्थागत व्यवस्थाको विषयमा कक्षा लिएका थिए भने सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव राम चन्द्र दंगालले बोलपत्र कागजात तयारी सम्बन्धी सामान र कार्यका विषयमा कक्षा सञ्चालन गरेका थिए।
यस्तै पूर्व सचिव एवं विज्ञ मणिराम गेलले बोलपत्र मुल्याङन प्रक्रिया, करार सम्झौता व्यवस्थापन तथा कालो सूची र निर्माण कार्यको खरिदमा उपभोक्ता समिति लाभग्राही समुदाय लगायतका तीन विषयमा कक्षा सञ्चालन गरेका थिए।
यसै गरी स्थानीय तहको लेखा परीक्षण बेरुजु तथा सम्परीक्षणको विषयमा प्रादेशिक लेखापरिक्षण महानिर्देशनालय बागमती प्रदेका ताराप्रसाद पाण्डेले कक्षा सञ्चालन गरेका थिए।
स्थानीय तह सञ्चालन तथा खरिद प्रक्रियामा ज्ञान नहुँदा बेरुजु हुने तथा बोलपत्रको प्रक्रिया नमिल्दा हुने झन्झटको समाधानका लागि उक्त कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ ।