बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान (सहभागीहरुको सूची सहित )

काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन्। बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास) को छैटौं शिखर सम्मेलनमा नेपालको सहभागिता जनाउन प्रधानमन्त्री ओली आज थाइ एयरमार्फत बैंकक प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटन मन्त्री बद्री पाण्डे,सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए। प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
भ्रमण दलमा परराष्ट्रमन्त्री आर्जु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतकुमार राई लगायतका सरकार कर्मचारी र सहयोगी रहेका छन्।
प्रधानमन्त्रीको भ्रमणका क्रममा थाई प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुने र पर्यटन तथा संस्कृतिका सन्दर्भमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। साथै दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्र बीचको ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने प्रधानमन्त्रीले सोमबार संसद्मा जानकारी गराएका छन्।
द्विपक्षीय वार्तापछि थाई समकक्षीसँगै संयुक्त प्रेस ब्रिफिङमा भाग लिने र थाई राजासँग भेटवार्तापछि थाइल्यान्डको एकदिने औपचारिक भ्रमण समाप्त हुने उनको भनाइ छ।
नेपाल–थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षको इतिहासमा नेपाली प्रधानमन्त्रीको स्तरबाट थाइल्यान्ड भ्रमण हुन लागेको हो। यो विषयमा प्रधानमन्त्रीले भने, ‘यसबीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीँबाट यता जाने, उता जाने तर औपचारिक भ्रमण चाहिँ नभएको अवस्था रहेछ। त्यसलाई अन्त्य गर्न यसपटक नेपालको तर्फबाट कार्यकारी प्रमुखको औपचारिक भ्रमण यो पहिलो पटक हुँदैछ। यस अर्थमा यो भ्रमण आफैंमा महत्वपूर्ण हो भन्ने ठान्दछु।’
प्रधानमन्त्री ओलीका अनुसार २१ चैत्रमा उनले थाइल्यान्डका प्रतिष्ठित व्यापारीहरूसँग भेटघाट–छलफल र दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने तालिका छ। त्यसपछि उनी डिनरमा सहभागी हुनेछन्।
प्रधानमन्त्री ओली २१ चैत्र दिउँसो हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी भएर नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। त्यसअघि बिहान ‘मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन अग्रिमेन्ट’ मा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछन्। २१ चैत्र साँझ नेपाली दूतावासमा आयोजना गरिएको रिसेप्सन (रात्रिभोज) मा सहभागी भएसँगै प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण समाप्त हुनेछ।
यी हुन् भ्रमणमा सहभागी प्रतिनिधिहरु
प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्रीका धर्मपत्नी, राधिका शाक्य
डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री
विष्णुप्रसाद गौतम, शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
दिवाकर खड्का, प्रमुख सेनानी, सम्माननीय प्रधानमन्त्रीका पार्श्ववर्ती
विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार
डा. युवराज खतिवडा, प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार
एकनारायण अर्याल, मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
अमृतबहादुर राई, परराष्ट्र सचिव
प्रा. डा. श्री दिव्या सिंह शाह, सम्माननीय प्रधानमन्त्रीका निजी चिकित्सक
राजेश बज्राचार्य, सम्माननीय प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव
तापस अधिकारी, सहसचिव, दक्षिणपूर्व एशिया तथा प्रशान्त महाशाखा, परराष्ट्र मन्त्रालय
ज्ञानबहादुर मगर, सहसचिव, क्षेत्रीय सहयोग संगठन महाशाखा, परराष्ट्र मन्त्रालय
अम्बिका जोशी, उपसचिव, दक्षिणपूर्व एशिया तथा प्रशान्त महाशाखा
विवेक रिजाल, उपसचिव, क्षेत्रीय सहयोग संगठन महाशाखा, परराष्ट्र मन्त्रालय
कमल रावल, माननीय परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव
ऋचा भट्टराई, शिष्टावार अधिकृत, परराष्ट्र मन्त्रालय
प्रकाश सिलवाल, वरिष्ठ संवाददाता, रा.स.स.
कृष्ण खड्का, प्रहरी निरीक्षक, सम्माननीय प्रधानमन्त्रीका सुरक्षा अधिकृत
सुदीप बुढाथोकी, क्यामेरामेन, नेपाल टेलिभिजन
दिनेश भण्डारी, प्रधानमन्त्रीज्यूका निजी फोटोग्राफर
जयश्री शाक्य, प्रधानमन्त्रीका निजी सहयोगी
अनिता सिंह, माननीय परराष्ट्रमन्त्रीका निजी सहयोगी