बैंकिङ प्रणालीको निक्षेप ६८ खर्ब पुग्दा, कर्जा लगानी ७९ प्रतिशत मात्रै

काठमाडौं, २६ चेत्र। बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार ६८ खर्ब नाघेको छ । गत साताको शुक्रबारसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुद्वारा संकलित निक्षेप (डिपोजिट) ६८ खर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो एक दिनमा मात्रै बैंकिङ प्रणालीमा १० अर्ब रुपैयाँले निक्षेप थपिएको छ । तर समीक्षा अवधिमा यता बैंकहरूको कर्जा लगानी भने खासै सुधार हुन सकेको छैन । केन्द्रीय बैंकका अनुसार चैत २२ गतेसम्म ६८ खर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाहरुले ५४ खर्ब ८० अर्ब रुपैयाँ मात्र लगानी गर्न सकेका छन् ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुको निक्षेप ६० खर्ब ७१ अर्ब तथा अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब २८ अर्ब पुगेको छ । तर, वित्तीय प्रणालीमा निक्षेपको तुलनामा कर्जा भने विस्तार हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्ये वाणिज्य बैंकहरुले ४८ खर्ब ६४ अर्ब तथा अन्य वित्तीय संस्थाले ६ खर्ब १६ अर्ब कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर हाल बैंकहरूले ७९.३४ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् ।
नेपाल बैंकर्स संघका अनुसार हाल बैंकहरुसँग झण्डै साढे ६ खर्ब रुपैयाँ लगानी योग्य रकम (तरलता) रहेको छ । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमलाई लिएर यता बैंकहरुले पनि लगानीमा कडाई गर्दा निक्षेप थुप्रिन पुगेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थुप्रदै जाने तर कर्जा विस्तार नहुँदा यसले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा समेत प्रभावित हुने अर्थविद्हरूले औँल्याएका छन् ।
बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.३४ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ४० अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न नसकेको २ खर्ब ३७ अर्ब ८५ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा जम्मा भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले चैत २५ गते सोमबारसम्म स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरण मार्फत उक्त रकम राष्ट्र बैंकमा राखेका हुन् । स्थायी निक्षेप सुविधा (एसडीएफ) को ९६ अर्ब ४० करोड तथा निक्षेप संकलन उपकरणमा लगानी गरेको १ खर्ब ४१ अर्ब ४५ करोड परिपक्क हुन बाँकी छ ।
बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको रहेको छ । कर्जा लगानी हुन नसक्दा बैंकहरुले राष्ट्र बैंकले जारी गर्ने अल्पकालीन उपकरणमा लगानी बढाएका छन् ।