Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

वर्ष २०८१ समिक्षा : होटलमा व्यसायमा बढ्दो लगानी, ३५ लाख पर्यटक धान्न सक्ने

वर्ष २०८१ समिक्षा : होटलमा व्यसायमा बढ्दो लगानी, ३५ लाख पर्यटक धान्न सक्ने

काठमाडौ, ३ वैशाख । गत माघमा काठमाडौंको सुकेधारामा पाँचतारे होटल ‘मक्र्याेर काठमाडौं ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्चालनमा ल्याउनुभएको सो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ ।
त्यसअघि गत साउनमा काठमाडौंकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले रु आठ अर्ब ३५ करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएको हो ।

साथै यही चैतको अन्तिमतिर पोखराको लेकसाइडमा टेम्पल बेल बुटिक होटल एन्ड स्पा प्रालि सञ्चालनमा आयो । पर्यटन व्यवसायी विश्वराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले रु एक अर्ब २५ करोड लगानीमा सञ्चालन भएको हो ।  साथै पछिल्लो समय सिद्धार्थ हस्पिटालिटीले पनि चेन होटलका रुपमा सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा तनहुँको दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । सिद्धार्थले केही समयअघि बुटवलमा सिद्धार्थ कटेज सञ्चालनमा ल्याएको थियो भने धनगढीमा पाँचतारे होटल निर्माण सुरु गरेको छ ।

सङ्घीय राजधानी काठमाडौंमा मात्र होइन देशका विभिन्न सहरमा पाँचतारेदेखि पर्यटकस्तरीय होटल सञ्चालनमा आउने क्रम यस वर्ष पनि जारी रह्यो । त्यसमा पनि विदेशी चेन होटलका साथै स्वदेशी कम्पनीहरूले पनि होटल व्यवसाय विस्तारलाई निरन्तरता दिएका छन् ।  साथै गत पुसमा गुण समूहले रु ६ अर्ब लगानीमा होटल रोयल टुलिप सञ्चालनमा ल्याएको छ भने गत माघमा गौशाला पिंगलास्थानमा रु एक अर्ब ५० करोड लगानीमा चार तारे स्तरको होटल वेस्ट वेस्टर्न प्लस काठमाडौं सञ्चालनमा आइसकेको छ भने काठमाडौको बुढानिलकण्ठमा काठमाडौ होलिडे इन लगायत लेमन्ट्री र म्यासिभ होटल पनि संचालन भएका छन् ।

होटल सङ्घ नेपाल (हान)का अनुसार पछिल्ला केही वर्षयता होटलमा लगानी ओइरिएको छ, जुन वर्ष २०८१ मा पनि जारी रह्यो । हानका अनुसार हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्नेगरी होटल निर्माण भइसकेका छन् । वर्ष ८१ मा झन्डै एक दर्जन पाँचतारे र चेन होटल सञ्चालनमा आए । पर्यटन विभागका अनुसार हालसम्म देशभर ३३७ पर्यटकस्तरीय होटल सञ्चालनमा छन् । हाल नेपालमा पाँचतारे होटल मात्र २३ वटा सञ्चालनमा छन् । तीनवटा पाँचतारे डिलक्स होटल छन् । देशभर ४१ वटा चारतारे होटल छन् ।

यस्तै डिलक्समा हेरिटेज (चार तारेस्तर) होटल चारवटा छन् भने ३७ वटा तीनतारे होटल सञ्चालनमा छन् । पचास वटाको हाराहारी दुई र एकतारे होटल छन् । साथै लज्जरी बुटिक र हेरिटेज, रिसोर्ट र साधारण रिसोर्ट गरी विभिन्न स्तरका होटल पनि सञ्चालनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *