नेप्सेमा नयाँ वर्षसँगै उत्साह: परिसूचक वृद्धि र कारोबार रकममा उल्लेखनीय उछाल

काठमाडाैं, ५ वैशाख । नयाँ वर्ष २०८२ को आगमनसँगै नेपाली पुँजीबजारमा उल्लेखनीय सुधार देखिएको छ। लगानीकर्ताको मनोबल उच्च हुँदै जाँदा नेप्से परिसूचकमा लगातार वृद्धि भएको छ। यो साता नेप्से परिसूचक १९.३४ अंकले बढेको छ भने कारोबार रकम र बजार पूँजीकरण दुबैमा उल्लेखनीय वृद्धि देखिएको छ।
गत साता नेप्से परिसूचक ३२.६९ अंकले घटेर २७०३.३९ विन्दुमा झरेको थियो। तर नयाँ वर्ष लागेसँगै बजारमा सकारात्मक संकेत देखिंदै परिसूचक १९.३४ अंकले वृद्धि भई २७२२.७३ विन्दुमा पुगेको हो।
यो साता ४ कारोबार दिनमध्ये ३ दिन नेप्से बढेको र १ दिनमात्रै घटेको देखिएको छ। साताको पहिलो दिन (आइतबार), जुन २०८१ सालको अन्तिम कारोबार दिन थियो, नेप्से ८.८४ अंकले घटेर २६६१.८६ विन्दुमा झरेको थियो। यस दिन १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर ६ अर्ब २८ करोड २९ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो।
मंगलवारदेखि बजारमा सकारात्मक परिवर्तन सुरु भयो। नेप्से २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा पुगेको थियो। सेन्सेटिभ इन्डेक्स ४.०७ अंक, फ्लोट इन्डेक्स १.९९ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४१ अंकले वृद्धि भएको थियो। कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेर ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ नाघेको थियो। यस दिन ३२० कम्पनीका २ करोड १८ लाख ४१ हजार कित्ता शेयर कारोबारमा आएका थिए।
बुधवार नेप्से परिसूचक थप ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा पुगेको थियो। यद्यपि, यस दिन कारोबार रकम केही घटेको देखिएको छ। १ करोड ६६ लाख ११ हजार कित्ता शेयर ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो।
साताको अन्तिम दिन बिहीबार भने बजार झनै उत्साहित बन्यो। नेप्से परिसूचक २६.४९ अंकले वृद्धि भई २७२२.७३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ६.३९ अंक, फ्लोट इन्डेक्स १.८८ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०३ अंकले वृद्धि भएका छन्। बिहीबार ३११ कम्पनीका २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरमा कारोबार भएको हो।
यस साता कारोबार रकम समेत उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो साता दैनिक औसत कारोबार ५ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा यो साता अन्त्यसम्म दैनिक कारोबार १० अर्ब रुपैयाँसम्म पुगेको छ। साताको सुरुवातमा ६ अर्बको कारोबार भएको बजार साताको अन्त्यमा १० अर्ब नाघेको हो।
यस साता कुल बजार पुँजीकरणमा समेत वृद्धि भएको छ। गत साता अन्त्यमा ४४ खर्ब ३९ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण ८७ अर्ब रुपैयाँले वृद्धि भई ४५ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।