वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ , ६ वैशाख। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर प्रचार गरेजस्तो नभएर नेपालमा लगानीका प्रशस्त सम्भावना र वातावरण रहेको दोहोर्याएका छन्।
कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बहुउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि आग्रह गरेका हुन्।
उनले भने “नेपालमा सम्भावना नै छैन भन्ने र नकारात्मक रूपमा लिने गरिएको पाइन्छ। विदेशमा बसेर विदेशको विकास र प्रविधिहरू देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ। म यहाँहरूलाई भन्न चाहन्छु। यदि साँच्चिकै विदेशमा गरेजस्तै मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन्।”
उनले आफू बागलुङबाट आएर अहिले मुलुककै निजी क्षेत्रको छाता सङ्गठनको नेतृत्वमा पुगेको आफ्नै उदाहरण दिँदै मिहिनेत, लगनशीलता र इमानदारितासाथ काम गरेमा नेपालमा धेरै सम्भावना छन् र सफल पनि भइन्छ भन्ने उदाहरण आफू पनि हुनसक्ने बताए।
वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आग्रह समेत गरे।
यस कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीहरूको छरिएर रहेको पुँजी सङ्कलन गरी जलविद्युत, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानी गर्न गइरहेको जानकारी गराउँदै ढकालले त्यसमा सहभागिताका लागि कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।
उनले भने “मलाई लाग्छ गैर आवासीय नेपाली साथीहरूमा नेपालमा लगानी गर्दा साझेदार छनौटमा समस्या पनि भएको हुनसक्छ । म आग्रह गर्दछु कि यस कम्पनीमा नेपालका उद्यमी व्यवसायी र एनआरएनएका साथीहरू पनि हुनुहुन्छ। यहाँहरूले ढुक्क भएर लगानी गर्दा राम्रो हुनेछ।”
सामाजिक उत्तरदायित्व कोषमा १५ लाख प्रदान
यसैबीच अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङवासीहरूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्ष कोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै उहाँले पनि त्यस कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।
सो कार्यक्रममा बागलुङवासी समेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो। अधिवेशनमा कलाकार सिम्रन परियारलगायत विभिन्न कलाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहेको थियो।