Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने बोर्डको निर्णय, सीडीओको मातहतमा निजामती कर्मचारीलाई खटाइने

कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने बोर्डको निर्णय, सीडीओको मातहतमा निजामती कर्मचारीलाई खटाइने

काठमाडौं,९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । शिक्षकहरूको आन्दोलनका कारण प्रभावित हुने देखिएपछि बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले यसअघि नै कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरिसकेका छन्। शिक्षकहरूको यो अडानका कारण निर्धारित समयमा परीक्षा सञ्चालन हुनेमा अन्योल सिर्जना भएको थियो । तर, बोर्डले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् ।

परीक्षा निर्धारित समयमै र शिक्षक सहभागी नभए निजामती कर्मचारी परिचालन गरेरै भए पनि सञ्चालन गर्ने निर्णय गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको तयारीमा असर पर्ने र उनीहरूको समय खेर जाने हुन्छ । त्यसैले परीक्षा नरोक्ने र प्रमुख जिल्ला अधिकारी (सीडीओ)को संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लाका निजामती कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो । आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका ठाउँमा प्रमुख जिल्ला अधिकारीले निर्णय गरेर परीक्षा सञ्चालन गरिने भएको छ ।

बोर्ड बैठकबाट आन्दोलनरत शिक्षकलाई कक्षा–१२ को परीक्षा सञ्चालनका निम्ति सहयोग गर्न आह्वान गर्ने निर्णय समेत गरिएको छ ।

यो वर्ष कक्षा–१२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका निम्ति जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।

परीक्षाका निम्ति त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी बोर्डले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x