नीति उल्लंघनकाे ‘पाँच कोणे संकट’: पाँच वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा
काठमाडाैं, १८ वैशाख । वित्तीय अनुशासन कायम गर्न सघन नियमन अघि बढाउँदै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नियम उल्लंघन गर्ने पाँच वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। नियामकीय व्यवस्था उल्लंघन गरेका बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक परेका छन्।
राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा निर्देशनअनुसार सञ्चालन गर्न चेतावनीसहित सचेत गराएको छ। यी बैंकहरूले विभिन्न नियामक नीतिहरूको पालना नगरेको भन्दै आगामी दिनमा यस्ता लापरवाही नदोहर्याउन स्पष्ट सन्देश दिइएको राष्ट्र बैंक स्रोतले जनाएको छ।
नेपाल बैंकको हकमा भने राष्ट्र बैंक थप कठोर बनेको छ। बैंकका सीईओलाई सचेत गराउने मात्र होइन, ५ लाख रुपैयाँ जरिवाना समेत गरिएको छ। बैंकले नियामक मापदण्ड विपरीत कार्य गरेको पुष्टि भएपछि यस्तो कारबाही गरिएको हो।
त्यसैगरी, कर्जा प्रवाह सम्बन्धी राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने स्ट्याण्डर्ड चार्टर्ड बैंकमाथि भने सबैभन्दा कडा कारबाही गरिएको छ। आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा तोकिएको क्षेत्रगत न्यूनतम कर्जा प्रवाहको सर्त नपुगेको भन्दै बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ ८७ पैसा जरिवाना गरिएको छ। यो रकम हालसम्मको क्षेत्रगत कर्जा नीतिलाई आधार मानेर लगाइएको उच्चतम जरिवाना मध्ये पर्न सक्छ।



