बजेट खर्चभन्दा ठूलो वार्षिक व्यापार घाटा

काठमाडौं, २१ साउन । अघिल्लो आर्थिक वर्ष २०७४–७५ मा सरकारले बजेटको मध्यावधि समीक्षाका क्रममा बजेटको आकार घटाएर १० खर्ब ७३ अर्ब रुपैँया बजेट खर्च गर्यो । तर सोही वर्षमा व्यापारघाटा भने सरकारको वार्षिक बजेट खर्चभन्दा ठूलो देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक व्यापारको स्थितिले ११ खर्ब ६२ अर्ब १० करोड रुपैँया व्यापारघाटा भएको देखाउँछ । निर्यातको तुलनामा आयात १५ गुणाले बढेको छ अर्थात् नेपालले एक रुपैँया बराबरको निर्यात गरेर १५ रुपैँयाको आयात गर्छ । यसले व्यापारघाटा धान्नै नसक्नेगरी बढाएर लगेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा कुल १२ खर्ब ४३ अर्ब २९ करोड रुपैँयाको आयात भएको छ भने ८१ अर्ब १९ करोड रुपैँयाको निर्यात भई ११ खर्ब ६२ अर्ब १० करोड रुपैँया व्यापारघाटा भएको हो । पाँच वर्षअघि देखि तय गरिएको एक सय अर्ब रुपैँयाको निकासी लक्ष्य भेट्टाउन सकिएको छ । आर्थिकव वर्ष २०७३–७४ को तुलनामा आर्थिक वर्ष २०७४–७५ मा आयात २६ दशमलव ३१ प्रतिशतले बढेको छ भने निर्यात ११ दशमलव १७ प्रतिशतले बढेको छ । त्यस्तै, कुल वैदेशिक व्यापार (आयात र निर्यातको योग) २५ दशमलव २७ प्रतिशत र वैदेशिक व्यापारघाटा २७ दशमलव ५३ प्रतिशतले बढेको छ । निर्यात कमजोर भएपनि रेमिट्यान्स आप्रवाहका कारण मुलुकले आयात बढाउन सफल भएको छ । आयातमुखी राजस्व नीतिकै कारण सरकारले आयातलाई प्रश्रय दिइरहेको छ । कुल राजस्वको ४४ प्रतिशत र कुल कर राजस्वको ५० प्रतिशत राजस्व भन्सारबिन्दूहरुबाट संकलन हुन्छ ।

गत आर्थिक वर्षका प्रमुख आयातहरुमा इन्धन, फलाम र स्टिल, मिल मेसिनरी, सवारी साधन तथा विद्युतीय उपकरणहरु रहेका छन् ।
प्रमुख पाँच आयात
१) इन्धन– १९७ अर्ब ८५ करोड रुपैँया
२) फलाम तथा स्टिल– १२५ अर्ब ८८ करोड रुपैँया
३) मिल तथा मेसिनरी– १२४ अर्ब ४४ करोड रुपैँया
४) सवारी साधन – ८६ अर्ब ३० करोड रुपैँया
५) विद्युतीय उपकरण– ७८ अर्ब २८ करोड रुपैँया

त्यस्तै, प्रमुख निकासी यसप्रकार रहेको छ ।
१) चिया तथा कफी – ९ अर्ब २० करोड रुपैँया
२) यार्न (धागो) – ८ अर्ब ४३ करोड रुपैँया
३) कार्पेट – ७ अर्ब ३८ करोड रुपैँया
४) तयारी पोशाक – ६ अर्ब २८ करोड रुपैँया
५) फलाम तथा स्टिल – ५ अर्ब १६ करोड रुपैँया निकासी भएको भन्सार विभागले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *