Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

मौलाकालीमा इला होटलको उद्घाटन, अध्यक्ष ढकालले गरे पर्यटन पूर्वाधारमा थप लगानीको आह्वान

मौलाकालीमा इला होटलको उद्घाटन, अध्यक्ष ढकालले गरे पर्यटन पूर्वाधारमा थप लगानीको आह्वान

नवलपुर, २९ वैशाख । आइएमई हस्पिटालिटीले नवलपुरको मौलाकालीमा नवनिर्मित इला होटल आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले होटलको उद्घाटन गरेका हृुन् ।

होटलको समुद्घाटन समारोहमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउँदै पर्यटन पूर्वाधारको विकासमा जोड दिएका छन् ।

उनले आइएमई हस्पिटालिटीले यस होटलसँगै पाँचवटा होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइसकेको जानकारी दिए । यसअघि बागलुङमा इला होटलको उद्घाटन भएको थियो भने काठमाडौँको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट, लाजिम्पाटमा होटलले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट सञ्चालन भइरहेको उनले बताए ।

अध्यक्ष ढकालले मुलुकका सातवटै प्रदेशमा केवलकारसहितका होटल तथा रिसोर्ट निर्माण गर्ने योजना रहेको जानकारी दिँदै हालसम्म तीनवटा प्रदेशमा केवलकार निर्माण भई सञ्चालनमा आइसकेको बताए । लुम्बिनी केवलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको र सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केवलकार निर्माणको काम एकसाथ अघि बढिरहेको उनको भनाइ थियो ।

कैलालीमा अबको एक वर्षभित्र केवलकार सञ्चालनमा आउने र त्यसपछि होटल तथा रिसोर्ट पनि सञ्चालनमा आउने उनले बताए । ताप्लेजुङको पाथीभरामा पनि केवलकार निर्माणको काम भइरहेको जानकारी उनले दिए ।

पर्यटन पूर्वाधारको कमीका कारण नेपाल आउने विदेशी पर्यटकको औषत खर्च र बसाई कम भएको तथ्याङ्क प्रस्तुत गर्दै अध्यक्ष ढकालले पर्यटकलाई आकर्षित गर्ने र उनीहरुको बसाई तथा खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेमा जोड दिए । नेपालको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र विशिष्ट भूगोल नै पर्यटकको आकर्षणको केन्द्र भएकोले त्यस्ता पर्यटकीय पूर्वाधारको विकासमा सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने उनको सुझाव थियो ।

सरकारले निजी क्षेत्रसँग साझेदारीको नीति लिए देशको विकास छिटो हुनेमा उनले विश्वास व्यक्त गरे ।

उनले नेपालमा अथाह प्राकृतिक सम्पदा रहेको र पर्यटन, प्रकृति तथा पर्यावरणका क्षेत्रमा धेरै सम्भावनाहरु रहेको बताए । भिजन, इच्छाशक्ति, प्रविधि र पुँजीको संयोजनबाट पर्यटन क्षेत्रमा चमत्कार गर्न सकिने उनको धारणा थियो ।

अध्यक्ष ढकालले उपयुक्त वातावरण पाए निजी क्षेत्रले ठूलो लगानी गर्न सक्ने र विकास, रोजगारी तथा आर्थिक वृद्धिमा सरकारलाई सहयोग गर्न सक्ने बताए । स्थानीय तहहरुले लगानीकर्तालाई आकर्षित गर्न प्रतिस्पर्धा गर्नुपर्ने र ठोस नीति मार्फत सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए । पर्यटन पूर्वाधारमा लगानी गरेर पर्यटकको बसाई लम्ब्याउन, विदेशी मुद्रा आर्जन गर्न, रोजगारी सिर्जना गर्न र राजस्व बढाउन सकिने उनको भनाइ थियो ।

चितवन, तनहुँ र नवलपुरको संगम धार्मिक तथा सांस्कृतिक महत्वको क्षेत्र भएको उल्लेख गर्दै उनले मौलाकालिका मन्दिरको ऐतिहासिक महत्व र यस क्षेत्रका अन्य धार्मिक स्थलहरुको महिमालाई पर्यटन पूर्वाधारले सबै नेपाली समक्ष पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्राकृतिक सौन्दर्यलाई कायम राख्दै स्थानीय नागरिकको जीवनस्तर उकास्ने र पर्यटन विकासमार्फत देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । नवलपुरको गहनाको रुपमा निर्मित इला होटललाई स्थानीय जनताको सम्पत्तिको रुपमा विकास गर्ने मोडल अघि सारिएको र उनीहरुको अधिकतम सहभागिता गराइने उनले बताए ।

कार्यक्रममा अध्यक्ष ढकालले होटल निर्माणमा सहयोग गर्ने संघ, प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल, स्थानीयवासी, मन्दिर व्यवस्थापन समिति, वन उपभोक्ता समिति लगायत सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे । गण्डकी प्रदेशको बासिन्दा भएको नाताले आफ्नो जन्मभूमिमा यस प्रकारको सेवा गर्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए ।

अन्तमा उनले ‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’ भन्ने नेपाली गीतलाई स्मरण गर्दै हरेक डाँडामा पर्यटनको सम्भावना रहेको र त्यहाँ पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।

समुद्घाटन कार्यक्रममा माननीय मन्त्रीलगायत विभिन्न अतिथिहरुको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *