सगरमाथा आधारशिविरमा विशेष संवाद, १६ बुँदे ध्यानाकर्षण

काठमाडौं, ३ जेष्ठ। सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद सम्पन्न भएको छ ।
नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार विशेष संवादको आयोजना गरेका हुन् ।
महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सगरमाथामा आधारशिविर पुगेर संवादमा सहभागी भएका हुन् ।
३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर विशेष संवाद सुरु गरिएको थियो । स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले सरकारले जलवायु परिवर्तनको असर नियन्त्रण एवं पर्यावरण जोगाउनेसहितका तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यबारे प्रस्तुतिकरण दिए ।
लुक्लादेखि पाँच दिन लगातार पदयात्रा गरेर सगरमाथा आधार शिविर पुगेका महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिट जस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिए । शर्माले कार्बन उत्सर्जन बढी गर्ने ठुला राष्ट्रमाथि दबाब बढाउन साना राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्ने बताए ।
१६ बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताएको छन् ।
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा.आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले बिशेष योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।
महामन्त्री शर्माले हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन् ।