गैर आवासीय नेपालीका दोस्रो पुस्तालाई पनि नागरिकता
काठमाडौं, २४ साउन । सरकारले गैर आवासीय नेपाली (एनआरएन) का दोस्रो पुस्ताले पनि नेपाली नागरिकता पाउनेगरी नागरिकता सम्बन्धि ऐनमा संशोधन विधेयक दर्ता गराएको छ । यो प्रस्ताव अनुमोदन भए सार्क देशहरुबाहेक अन्य मुलुकमा बसोबास गर्ने नेपालीका छोराछोरीले स्वतः नेपाली नागरिकता प्राप्त गर्नेछन् । वर्तमान नागरिकता सम्बन्धि ऐनले आमा नेपाली नागरिक र बाबु अज्ञात रहेको अवस्थामा पनि उक्त बालबालिकाले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने हक सुनिश्चित गरेको छ । तर यदि उसको बाबु विदेशी रहेको जानकारी फेला परेमा र उक्त सन्तानले बाबुको नामबाट विदेशी नागरिकता लिएको खण्डमा आमाको नामबाट लिएको वंशजको नागरिकता अंगीकृतमा परिणत हुने व्यवस्था नागरिकता सम्बन्धि ऐनमा छ ।
गैर आवासीय नेपालीको हकमा भने उनीहरुले आर्थिक, सांस्कृतिक र सामाजिक अधिकार प्राप्त गर्छन् तर उनीहरुलाई राजनीतिक अधिकार भने प्राप्त हुँदैन । राजनीतिक अधिकार भन्नाले राजनीतिमा सहभागी हुने, मतदान गर्ने र राजनीतिक सभासम्मेलन गर्न पाउने अधिकार हो । सरकारले दर्ता गराएको विधेयकले नागरिकता लिन निवेदनसँगै बाबु या आमापट्टीको तीनपुस्ते नागरिकता पेश गर्नुपर्ने व्यवस्थालाई पनि सरलीकरण गर्न लागेको छ । आमाको नामबाट नागरिकता लिन चाहाने व्यक्तिले नागरिकता प्राप्तिका लागि निवेदनसँगै अधिकारप्राप्त अधिकारीसमक्ष आफ्नो बाबुका सम्बन्धमा जानकारी नभएको भनि सपथ लिएको दस्तावेज (एफेटेबिट) पेश गर्नुपर्नेछ । त्यस्तै आमाले पनि उसको सन्तानलाई उसको बाबुको बारेमा जानकारी नगराएको भनेर एफेडेविट पेश गर्न सक्छिन् ।
गैर आवासीय नेपालीहरुले लामो समयदेखि उनीहरुको सन्तानले पनि नेपाली नागरिकता पाउनुपर्ने माग राख्दै आएका थिए । ढिलै भए पनि सरकाले उनीहरुको माग सम्बोधन गर्न नागरिकता ऐनमा संशोधन विधेयक दर्ता गराएको छ ।