बीमा बजारमा फेरि चमक, ९ महिनामै डेढ खर्ब रुपैयाँ बीमा शुल्क संकलन

काठमाडाैं, ४ जेष्ठ । लामो समयदेखि सुस्ताएको नेपाली बीमा बजारमा पुनः उत्साह देखिएको छ। आर्थिक गतिविधिमा आएको सुधारसँगै बीमा कम्पनीहरुको व्यवसाय पनि क्रमिक रूपमा बढ्न थालेको छ। चालु आर्थिक वर्षको ९ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कूल १ खर्ब ५९ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार, यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९३ प्रतिशतले वृद्धि भएको हो। गत आवको सोही अवधिमा कम्पनीहरुले १ खर्ब ४० अर्ब ३१ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।
जीवन बीमामा उत्साहजनक वृद्धि
बीमा बजारमा जीवन बीमाको योगदान सबैभन्दा धेरै देखिएको छ। चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब २७ अर्ब ३ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यो गत वर्षको तुलनामा १५.३२ प्रतिशतले वृद्धि भएको हो।
जीवन बीमामा नयाँ व्यवसाय आर्जनमा समेत तीव्र वृद्धि देखिएको छ। कम्पनीहरुले २७ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्, जुन गत वर्षको तुलनामा २७.५४ प्रतिशतले बढी हो।
यस्तै, पुरानो व्यवसाय अर्थात् नविकरण बीमा शुल्क पनि दोहोरो अंकले वृद्धि भएको छ। नविकरण मार्फत संकलन भएको बीमा शुल्क १२.३५ प्रतिशतले बढेर ३५ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
जीवन बीमालेखको संख्या घट्दै
बीमा शुल्क आर्जनमा वृद्धि देखिए पनि जारी जीवन बीमालेखको संख्या भने घटेको छ। हाल १ करोड ४३ लाख ९९ हजार ५७३ वटा जीवन बीमालेख सक्रिय रहेको प्राधिकरणले जनाएको छ। गत वर्षको सोही अवधिमा यो संख्या १ करोड ३८ लाख ६६ हजार ६१५ थियो।
९ महिनामा कम्पनीहरुले ४४ लाख १३ हजार २२ वटा नयाँ जीवन बीमालेख बिक्री गरेका छन्, जुन गत वर्षको तुलनामा १३.२ प्रतिशतले कम हो।
निर्जीवन बीमामा पनि वृद्धिको संकेत
जीवन बीमाको तुलनामा निर्जीवन बीमाको वृद्धिदर कम भए पनि निरन्तर उकालो लागेको देखिन्छ। ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ८.८३ प्रतिशतले बढी हो।
कम्पनीहरुले २४ लाख १२ हजार ३३१ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन्, जुन गत वर्षको तुलनामा ६.६३ प्रतिशतले बढी हो।
बीमा क्षेत्रमा रोजगारको अवसर बढ्दै
बीमा क्षेत्रले रोजगारका अवसरहरु पनि बढाएको छ। हाल बीमा क्षेत्रमा १२ हजार ९१ जना कर्मचारी कार्यरत रहेको बीमा प्राधिकरणको तथ्यांक छ। यो संख्या गत वर्षको तुलनामा ४.५१ प्रतिशतले वृद्धि भएको हो।
जीवन बीमा क्षेत्रमा ६ हजार ५५ कर्मचारी तथा निर्जीवन बीमामा ६ हजार ३६ जना कर्मचारी कार्यरत छन्।
बीमाको पहुँचमा विस्तार
देशभरका बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ९९९ पुगेको छ। जीवन बीमामा १ हजार ८४४ र निर्जीवन बीमामा १ हजार ११५ वटा कार्यालय संचालनमा छन्।
बीमा प्राधिकरणका अनुसार, हाल कुल जनसंख्याको ४४.६४ प्रतिशतमा बीमा सेवा पुगेको छ। यसअघि, आर्थिक शिथिलताको कारण बीमा सेवा लिनेहरुको प्रतिशत घट्दो थियो। तर, पछिल्लो समय केही आर्थिक गतिविधिमा आएको सुधारले बीमाको पहुँच विस्तारमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ।