Date

बिहि, जेष्ठ ८, २०८२
Thu, May 22, 2025

बौद्ध सम्बन्धले बाँधिएको: जापान भ्रमणमा परराष्ट्रमन्त्री डा. राणा र जापानी समकक्षीबीच गहिरो कूटनीतिक वार्ता

बौद्ध सम्बन्धले बाँधिएको: जापान भ्रमणमा परराष्ट्रमन्त्री डा. राणा र जापानी समकक्षीबीच गहिरो कूटनीतिक वार्ता

काठमाडाैं, ८ जेष्ठ । नेपालको परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवाले आज जापानको परराष्ट्रमन्त्री ताकेशी इवाया (Takeshi Iwaya) सँग टोकियोस्थित जापानी विदेश मन्त्रालयमा द्विपक्षीय भेटवार्ता गरे। यो भेटवार्ता डा. राणाको जापान भ्रमणको औपचारिक अवसरमा सम्पन्न भएको हो।

वार्ताको क्रममा नेपाल–जापानबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धको समिक्षा गर्दै दुबै मन्त्रीहरूले आपसी सहयोग, साझा चासोका विषयहरू र आगामी योजनाहरूमा गहिरो छलफल गरे । सन् १९५६ मा स्थापना भएको यो सम्बन्धको ७०औँ वार्षिकोत्सव आउँदो वर्ष मनाउन दुवै देशले तयारी गरिरहेका छन्।

डा. राणाले जापानको दीर्घकालीन आर्थिक तथा सामाजिक सहयोगप्रति नेपाली जनताको तर्फबाट आभार प्रकट गर्दै जापानी समकक्षी इवायालाई आगामी वर्ष नेपाल भ्रमणको निमन्त्रणा दिइन् ।

उनले नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकको सूचीबाट स्नात भई विकासोन्मुख राष्ट्र बन्ने तयारीमा रहेको जानकारी दिँदै यस यात्रामा जापानको निरन्तर सहयोगको अपेक्षा गरिन्।

नेपालमा लगानीको लागि व्यापक अवसरहरू रहेको उल्लेख गर्दै डा. राणाले जापानी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरिन्। उनले नेपाल सरकारले वैदेशिक लगानीको सुरक्षा र सहजीकरणमा प्रतिबद्धता जनाएको स्पष्ट पारिन्।

वार्ताका क्रममा नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धको पनि चर्चा भयो। डा. राणाले बुद्ध धर्मद्वारा प्रेरित ऐतिहासिक सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्धभन्दा पुरानो भएको उल्लेख गरिन्। नेपालको लुम्बिनी – भगवान बुद्धको जन्मस्थल – लाई दुवै देशबीचको सांस्कृतिक सेतुका रूपमा प्रस्तुत गर्दै उहाँले जापानी नागरिकको यसप्रति आकर्षणलाई विशेष महत्व दिनए ।

हरेक वर्ष हजारौँ जापानी पर्यटक नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको अवलोकनका लागि आउने गरेको उल्लेख गर्दै, पर्यटन प्रवर्द्धनमा समेत थप सहकार्य गर्न दुवै मन्त्रीबीच सहमति भएको जानकारी दिइएको छ।

यसबाहेक, नेपालमा हालै सम्पन्न “सगरमाथा संवाद” मा जापानी उप-परराष्ट्रमन्त्रीको नेतृत्वमा भएको सक्रिय सहभागिताप्रति डा. राणाले कृतज्ञता व्यक्त गरिन् ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *