भोलिदेखि सर्वसाधारणका लागि ट्रेड टावरको ३३ करोड बराबरको आईपीओ खुल्दै

काठमाडौँ, १३ जेठ । ट्रेड टावर लिमिटेडले भोलि (जेठ १४) गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ जारी गरिसकेको थियो। अब सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर बिक्रीमा ल्याइँदैछ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म तय गरिएको छ, तर सो अवधिमा सबै कित्ताका लागि आवेदन नपरेमा म्याद जेठ २८ गतेसम्म लम्ब्याइनेछ।
यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा, वा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीलाई इक्राएनपीले डबल बी माइनस (BB-) को रेटिङ दिएको छ, जसले यसको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।