नेपालका लागि विश्व बैंकको ठूलो सहयोग : २५ करोड ७० लाख डलरका दुई परियोजना स्वीकृत

काठमाडाैं, २० जेष्ठ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले मे २९ मा नेपालका लागि दुईवटा महत्वपूर्ण परियोजनाहरूका लागि २५ करोड ७० लाख अमेरिकी डलर (झण्डै ३४ अर्ब नेपाली रुपैयाँ) स्वीकृत गरेको छ। यी परियोजनाहरूको उद्देश्य कृषि उत्पादकत्व वृद्धि, सिँचाइ सेवाको विस्तार, र विश्वसनीय विद्युत आपूर्ति प्रणालीको विकास गर्नु हो।
विद्युत आपूर्ति विश्वसनीयता सुधार परियोजना (US$ 120 मिलियन)
यस परियोजनाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा विद्युत वितरण सञ्जाल सुदृढ गर्नेछ। नेपाल विद्युत प्राधिकरण (NEA) को नेतृत्वमा सञ्चालन हुने यस योजनाले नयाँ वितरण सबस्टेशनहरू निर्माण गर्ने, अवस्थित संरचनाको स्तरोन्नति गर्ने र रियल-टाइम अनुगमन प्रणालीमार्फत वितरण सञ्जालको सञ्चालन दक्षता बढाउनेछ।
यस परियोजनाबाट ग्रामीण र अर्ध-शहरी क्षेत्रमा बिजुली आपूर्तिको गुणस्तर र स्थायित्वमा सुधार आउने अपेक्षा गरिएको छ, जसले उद्योग र घरेलु उपभोक्ताहरूलाई भरपर्दो सेवा प्रदान गर्नेछ।
रानी जमरा कुलरिया सिँचाइ परियोजना – चरण ३ (US$ 137 मिलियन)
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला केन्द्रित यो परियोजनाको उद्देश्य सिँचाइ सेवाको पहुँच विस्तार, कृषि उत्पादन वृद्धि, र जलवायु अनुकूलता सुधार गर्नु हो। जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागले संयुक्त रूपमा कार्यान्वयन गर्ने परियोजनाले १७,५०० हेक्टरमा वर्षभरि सिँचाइ सेवा पुर्याउनेछ।
यसबाट करिब १ लाख ६० हजारभन्दा बढी किसान लाभान्वित हुनेछन्। आधुनिक सिँचाइ प्रणालीमार्फत उत्पादन बढ्ने र कृषकको आम्दानीमा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ।
एकीकृत कृषि विकास र वातावरणीय लचिलोपन
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका कन्ट्री डिभिजन निर्देशक डेभिड सिस्लेन का अनुसार, “नेपालको दिगो विकासका लागि निरन्तर बिजुली आपूर्ति र वर्षभर सिँचाइ सेवाहरू अत्यावश्यक छन्।” उनले थपे, “यी परियोजनाहरूले जलवायु तथा प्रकोप जोखिमविरुद्ध किसानलाई लचिलो बनाउने, एकीकृत कृषि सेवा उपलब्ध गराउने र स्वच्छ जलविद्युत प्रवर्द्धन गर्ने छन्।”
संस्थागत क्षमता अभिवृद्धि र दिगोपन
दुवै परियोजनामा नेपाल विद्युत प्राधिकरण र पानी उपभोक्ता संघहरूको क्षमता विकाससम्बन्धी कार्यक्रम पनि समावेश छन्। यसले पूर्वाधार व्यवस्थापनमा दिगोपन, नवीन समाधानको प्रयोग र संस्थागत प्रणालीको सुधारमा मद्दत गर्नेछ।