डोनाल्ड ट्रम्प र इलन मस्कबीचको तिक्तता चुलियो, ट्रम्पको स्पष्ट प्रतिक्रिया– “सुधार हुँदैन”

काठमाडाैं, २५ जेष्ठ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै चर्चित धनाढ्य उद्यमी इलन मस्कबीचको सम्बन्धमा गहिरो तिक्तता देखिएको छ। कहिल्यै नछुट्टिने राजनीतिक र प्राविधिक जोडीका रूपमा चर्चा भएका यी दुई शक्तिशाली व्यक्तित्वबीच अहिले आरोप-प्रत्यारोपको शृंखला चलेको छ।
हालै एक सार्वजनिक कार्यक्रममा पूर्वराष्ट्रपति ट्रम्पसँग मस्कसँगको बिग्रिएको सम्बन्ध सुधार हुने सम्भावना छ कि भन्ने प्रश्न गरियो। ट्रम्पको स्पष्ट जवाफ थियो – “No (हुँदैन)।” उनले मस्कसँग कुनै सम्बन्ध नरहेको र दुवैबीच कुराकानी समेत नहुने उल्लेख गरे।
ट्रम्प प्रशासनको समय मस्कका पक्षमा रहेको देखिए पनि पछिल्लो समय सम्बन्धमा कटुता आएको हो। प्रशासनमा मस्कप्रति धेरैले असन्तुष्टि जनाएका थिए। मस्कले कर्मचारीलाई मेलमार्फत खर्च कटौतीका निर्देशन दिँदै ‘आतंक फैलाएको’ आरोप लागे पनि ट्रम्पले उनको बचाउ गर्दै आएका थिए।
तर, गत साता ट्रम्पले मस्कलाई व्हाइट हाउसबाट बिदा गरेपछि सम्बन्धमा पूर्ण दरार आयो। त्यसपछि मस्कले ट्रम्पद्वारा हस्ताक्षरित बजेट विधेयकको कडा आलोचना गरे। उनले एक्स (पूर्व ट्विटर) मा सो विधेयकलाई ‘Disgusting Abomination’ (घृणित विकृति) भन्दै आलोचना गरे। मस्कका अनुसार बजेटले अमेरिकी राष्ट्रिय ऋणलाई भयावह रूपमा बढाउनेछ र विधेयकको पक्षमा मत दिने सांसदहरूले ठूलो गल्ती गरेका छन्।
यही आलोचनापछि ट्रम्पले मस्कप्रति ‘निराश र आश्चर्यचकित’ भएको प्रतिक्रिया दिएका थिए। त्यसपछि दुवै बीच सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप सुरु भयो। ट्रम्पले मस्कले राष्ट्रपति कार्यालयको मान राख्न नसकेको भन्दै आलोचना गरे। जवाफमा मस्कले अब हुने संसदीय निर्वाचनमा ट्रम्पका विपक्षीहरूलाई सहयोग गर्ने बताएका छन्। ट्रम्पले भने त्यसले “राम्रो परिणाम नदिने” चेतावनी दिएका छन्।