Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

काठमाडौंको व्यस्त सडक क्षेत्रमा विकासका नाममा धराप !

काठमाडौंको व्यस्त सडक क्षेत्रमा विकासका नाममा धराप !

काठमाडौं, २५ जेठ । विद्युत प्राधिकरणले विद्युतको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने कामलाई तिब्रता दिएको छ । तर काठमाडौंका व्यस्त सडक क्षेत्रमा समयमै काम नसकिदा पैदल यात्रु र सवारी साधन जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

२०७६ को फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कामको थालनी भएको थियो । तर कतिपय क्षेत्रमा प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबीच समन्वय नहुँदा काम ढिला हुने गरेको छ ।

हाल काठमाडौंको नयाँ बानेश्वर–मीन भवन–आलोकनगर क्षेत्रमा भइरहेको कामका कारण सवारी साधनहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् ।

सडक भत्काएर खाल्डो पार्ने तर पुर्न ढिला गर्दा दुर्घटना हुनेक्रम बढेको छ । दुई दिन यता आधा दर्जन सवारी साधन सामान्य दुर्घटनामा परिसकेको स्थानीयले बताए ।

प्राधिकरणको वानेश्वर शाखाले सार्वजनिक सूचना जारी गर्दै विद्युत वितरणमा समस्या हुने जानकारी समेत गराएको छ ।

‘यस वानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने आलोकनगर गेट नजिक सडक विभागले आकासे पुल निर्माण गर्न ‘पिलिङ’ गर्ने स्थानमा रहेको ११ केभी लाइनहरुको ब्यवस्थापन गर्ने कार्य गर्नको लागि ‘केएमसी फिडर एन्ड ओल्ड एयरपोर्ट फिडर’ अन्तर्गत मिनभवन तथा आलोकनगर क्षेत्रमा रहेका ३ वटा ट्रान्सफरमर मिति २०८२।०२।२४ मा बिहान ११ वजे देखि दिउँसो ३ बजेसम्म बन्द रहने भएको कारण सो क्षेत्रमा बिद्युत आपूर्ति बन्द रहने छ तथा उक्त फिडरहरुलाई बैकल्पीक माध्यमबाट चालु गराउनुपर्ने भएको हुँदा गैरीगाउँ, तिनकुने, सुबिधानगर, बानेश्वर, सिनामङ्गल क्षेत्रमा सोहि दिन बिहान ११ वजे देखि ११ः४५ सम्म बिद्युत आपूर्ति बन्द रहने छ । साथै उक्त कार्य समय अगावै सम्पन्न भएमा निर्धारित समय अगावै बिद्युत आपूर्ति सुचारु गरिने छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

प्राधिकरण वानेश्वर शाखाका प्रमुख राहिणी पौडेलले बिजुलीको तार भूमिगत गर्ने काम परियोजना अन्तर्गत रहेकाले आफूलाई जानकारी नहुने बताए । उनले भने,‘हामी वितरणको काम मात्र हेर्छौं । तार भूमिगतको काम परियोजना अन्तर्गत काठमाडौं उपत्यकाभर जारी छ । कता के भइरहेको छ परियोजनाले नै हेरिरहेको छ ।’

प्राधिकरणले तार भूमिगत गर्नका लागि खनेको सडक र फुटपाथ नपुरिदिने, सडकभर हिलो र धुलो छोडिदिने, तारहरु सडकमाथि नै जथाभावी छोडिदिने गरेको आरोप लाग्ने गरेको छ ।

तर जमिनमुनि खानेपानी, ढल, टेलिकमको पाइपहरुका जोगाउनेक्रममा काममा ढिला हुने गरेको प्राधिकरणले जवाफ दिने गरेको छ । यात्रुहरुले विकासका नाममा सरकारले धराप थाप्ने गरेको भन्दै आक्रोश व्यक्त गर्दै आइरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *