जनताको समस्या हेरेर मौद्रिक नीति ल्याइनेछ’ : गभर्नर पौडेल

काठमाडाैं, २७ जेष्ठ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विष्णु पौडेलले आगामी मौद्रिक नीति आर्थिक क्षेत्रको सुधारमा केन्द्रित हुने स्पष्ट पारेका छन्।
सोमबार नेपाल राष्ट्र बैंक धनगढी शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर पौडेलले व्यवसायी, सङ्घसंस्था, ऋणी तथा सरोकारवाला पक्षहरूसँग प्रत्यक्ष छलफल गरेका थिए।
गभर्नर पौडेलले पछिल्लो समय भएका विभिन्न घटनाहरूले राष्ट्रिय अर्थतन्त्रमा समस्या सिर्जना गरेको उल्लेख गर्दै ती समस्याको पहिचान गरी सुधारात्मक नीति ल्याइने बताए। उनले भने, “म मौद्रिक नीति जनताको समस्या हेरेर बनाउने उद्देश्यका साथ आएको हुँ।”
उनका अनुसार मौद्रिक नीति यस्तो ढंगले तयार गरिनेछ जसले सरोकारवालाहरूको चिन्तालाई सम्बोधन गर्नेछ। उनले बैंक तथा वित्तीय संस्थाहरू र व्यवसायीहरूबीचको सम्बन्ध अझ सुदृढ बनाइनुपर्ने आवश्यकता औंल्याउँदै भने, “यो सम्बन्ध बलियो भए मात्र राष्ट्रिय अर्थतन्त्र चलायमान हुन्छ।”
कार्यक्रममा उनले व्यवसायी तथा अन्य सरोकारवालाहरूबाट अर्थतन्त्रका विविध समस्या, ऋण प्रवाह, व्याजदर र लगानी वातावरणसम्बन्धी गुनासा सुनेका थिए।