लगातार दुई दिनको वृद्धि पछि बुधबार सेयर बजारमा गिरावट, नेप्से १३.२८ अंकले घट्यो

काठमाडाैं, २८ जेष्ठ । दुई दिन लगातार उकालो लागेको नेपाली सेयर बजार बुधबार पुनः ओरालो लागेको छ। कारोबारको साताको चौथो दिन आज सेयर बजार मापक नेप्से परिसूचक १३.२८ अंकले घटेर २६६४.८८ बिन्दुमा झरेको छ।
बजारसँगै कारोबार रकम पनि घटेको छ। आज ३०७ कम्पनीका २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच हुँदा जम्मा ९ अर्ब ९० करोड ७० लाख ५ हजार रुपैयाँको कारोबार भएको छ।
त्यसको अघिल्लो दिन (मंगलबार) ३११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच भई १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज जलविद्युत् समूहबाहेक बाँकी सबै समूहको परिसूचकमा गिरावट देखिएको छ। तर, बजार घटेपनि तीन हाइड्रोपावर कम्पनी बुटवल पावर, पियोर इनर्जी र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयरमा भने सर्किट लेभल (९.९९%) को उछाल आएको छ।
यस्तै, अन्य कम्पनीहरू मध्ये रिभर फल्स पावरको सेयर ७.९४ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.०६ प्रतिशत, साहस उर्जाको ५.२९ प्रतिशत, र युनाइटेड इदी मार्दीको ५.१० प्रतिशतले वृद्धि भएको छ।
आजको बजारमा कुल ७७ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १७० कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी कम्पनीहरू स्थिर रहे।
बजार घट्दा सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट, उन्नती सहकार्य लघुवित्त, हिमालयन पावरलगायतका कम्पनीमा लगानी गरेका लगानीकर्ताले क्षति व्यहोर्नुपरेको छ।